सम्पत्ति शुद्धीकरण मुद्दा: रवि लामिछानेको खातामा २१ करोड आएको पुष्टि।

[ अनिल क्षेत्री ] 

काठमाडौं := रास्वपा सभापति रवि लामिछानेविरुद्ध सबैभन्दा बलियो प्रमाण सम्पत्ति शुद्धीकरणमा भेटिएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धान गरेको कास्की प्रहरीले रवि र उहाँकी श्रीमती निकिता पौडेलको खातामा झण्डै साढे २१ करोड आएको प्रमाण फेला पारेको हो ।

सूक्ष्म ढंगले अनुसन्धान गर्दा रवि र निकिताको बैंक खातामा अस्वाभाविक ट्रान्जेक्सन देखिएको जानकारी दिँदै अनुसन्धानमा संलग्न एक अनुसन्धान अधिकृतले सम्पत्ति शुद्धीकरण मुद्दाले नै रविको सजाय निर्धारण गर्ने देखिएको दाबी गरेका छन् । पछिल्लो चार वर्षमा ग्लोबल आइएमई र सिद्धार्थ बैंकमा रहेको रविको खाता तथा नेपाल बैंक र सिद्धार्थ बैंकमा रहेको निकिताको खातामा कुल २१ करोड ४० लाख ४२ हजार कारोबार देखिएको खुलासा भएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविविरुद्ध सहकारी ठगीभन्दा संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा बलियो प्रमाण फेला परेको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार स्वर्णलक्ष्मी, सहारा, सुप्रिम, सूर्यदर्शन र सानोपाइला सहकारीबाट गोरखा मिडियामा पुगेको करोडौँ रकम परिचालनको अधिकार पाउनुभएका रविले श्रीमती निकिता पौडेलको बैंक खातामा ३५ लाख रुपैयाँ जम्मा गरेको समेत भेटिएको छ ।

रविले निकिताको नाममा गोरखा मिडियाको नामको चेक काटेर दिएको प्रमाण प्रहरीले पाएको छ । गोरखा मिडियाबाटै रविले ससुरा उद्धव पौडेलको स्वामित्व रहेको गोपीकृष्ण मुभिजको नाममा २५ लाखको चेक काटेको भेटिएको छ । सहकारी ठगी छानविन गर्न बनेको संसदीय विशेष समितिले सहकारीबाट गोरखा मिडियामा पुगेको ६५ करोड ५४ लाख रुपैयाँ गएको देखाए पनि प्रहरी अनुसन्धानका क्रममा थप तीन करोड बढी गोरखा मिडियामा पुगेको फेला परेको छ ।