काठमाडौं := सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन मिडिया अराजक र अनुशासनहीन बनेको आरोप लगाएका छन्। मन्त्री गुरुङले अनलाइन मिडियामा देखापरेको अराजकतालाई नियमन गर्न सरकारले सोसल मिडिया प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक ल्याउन लागेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रिन्ट मिडिया र बोर्ड कास्टिङ मिडियाले राज्यलाई गर्नुपर्ने आलोचना, दिनुपर्ने सूचनाहरु, जनताको सूचनाको प्रत्याभुति गरिरहेको भएपनि अनलाइन मिडियाहरुले अराजकता मच्चाउने काम गरिरहेको बताउनु भयो ।
उहाँले संस्कृतिमाथि प्रहार गरेर समाजमा हिंसा भड्काउने काममा अनाइन मिडिया लागेकाले यसको नियमन अहिलेको पहिलो आवश्यकता भएको बताउनु भयो । अनलाइन मिडियाको अराजकताका कारण राष्ट्रिय स्वाधिनता, राष्ट्रिय स्वार्थमाथि प्रश्न उठिरहेको बताउनु भयो । उहाँले अनलाइन मिडियाहरुले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता भत्काउने काम गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मलाई एउटा चिजले धेरै सताइरहेको छ। हामीलाई प्रिन्ट मिडियाले कुनै प्रोब्लम पारेको छैन । बोर्ड कास्टिङ मिडियाले पनि कुनै प्रोब्लम पारेको छैन । राज्यलाई गर्नुपर्ने आलोचना, दिनुपर्ने सूचनाहरु, जनताको सूचनाको प्रत्याभुति गर्दै जेजे कुराहरु गरिरहेको छ, त्यसमा हाम्रो कुनै ठूलो गुनासो, आलोचना र टिप्पणी छैन ।
तर आलोचना र टिप्पणी त कहाँनेर छ भने अनलाइन मिडिया, इन्टरनेट मिडिया जेजे भन्छौँ हामी, त्यो मिडियामा देखापरेको जुन खालको अराजकता अनुशासनहिनता छ, त्यसको नियमन आज सबैभन्दा जरुरी देखिन्छ ।
त्यसले गर्दा हाम्रो राष्ट्रिय स्वाधिनतामाथि प्रश्न उठिरहेको हुन्छ, राष्ट्रिय स्वार्थमाथि प्रश्न उठिरहेको हुन्छ, हाम्रो जस्तो सामाजिक संरचना भएको मुलुकमा जुन खालको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता छ, त्यसका माध्यमबाट बारम्बार भत्काउने प्रयत्न भइरहेको देखिन्छ ।
हाम्रो समाजको जुन सांस्कृतिक चरित्र छ, हामीले सोसल मिडिया प्रयोग सञ्चालन र यसलाई नियमन गर्ने विधेयक क्याबिनेटले पास गरिसकेको छ, संसद नभएकाले अड्किएको छ । मेरो त आग्रह छ, प्रधानमन्त्रीसँग बारम्बार भनेको छु, अहिले अध्यादेशबाट ल्याइहालौँ । संसदबाट संसद चलेपछि पास गरौँला ।
आजको आजै नियमन थाल्नुपर्छ । साइबर क्राइम नियमन गर्ने खालको ऐन पनि छैन । साइबर क्राइमलाई नियन्त्रण गर्ने ऐन आज सबैभन्दा बढी चाहिएको छ ।’ मन्त्री गुरुङले साइबर क्राइम नियमन गर्ने ऐन पनि ड्राफ्ट भइरहेको र छिटै मन्त्रीपरिषद्बाट पारित हुने विश्वास व्यक्त गर्नुभयो ।




















