काठमाडौं := साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
प्रसाईंमाथि आपराधिक लाभ र संगठित अपराधको कसुरमा भने अनुसन्धान जारी रहेकाले उहाँ छुट्न नपाउने हुनुभएको छ । जिल्ला अदालत काठमाडौंमा बुधबार प्रसाईंविरुद्ध मुद्दा दायर भएको थियो । नेपाल प्रहरीको साइबर ब्युरोले पेस गरेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले मुद्दा दर्ता गरेको हो । प्रसाईंविरुद्ध दर्ता भएको मुद्दामा सात वर्ष कैद सजाय माग गरिएको थियो ।
प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा सिआइबीबाट अनुसन्धान जारी रहेको छ । विभिन्न आपराधिक समूहका नाममा व्यक्तिहरू परिचालन गरी धाकधम्की दिएर पैसा असुल गर्ने र ज्यान मार्न सुपारी दिने गरेको सन्दर्भमा पर्याप्त प्रमाणहरू फेला परेकाले अनुसन्धान जारी रहेको सिआइबीले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईं मंसिर ४ मा भक्तपुरस्थित निवासबाट पक्राउ पर्नुभएको थियो । ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने फर्जी कागज देखाउँदै उहाँले पत्रकार सम्मेलन गर्नुभएको थियो । बयानका क्रममा भने कसैले हृवाट्सएपमा पठाएको डकुमेन्ट सार्वजनिक गर्दा आफू फसेको उहाँले बताउनुभएको थियो ।




















