एजेन्सी := सन् २०३४ मा हुने फुटबल विश्वकप “फिफा विश्वकप” साउदी अरेबियाले आयोजना गर्ने भएको छ ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार राति यस्तो घोषणा गरेको हो ।
साउदी अरेबियाले मात्रै २०३४ को विश्वकप आयोजना गर्न दाबी गरेको थियो । यस्तो अवस्थामा जुरिचमा भएको विश्व निकायको विशेष बैठकपछि अध्यक्ष जियानी इन्फान्टिनोले साउदी अरेबियालाई आधिकारिक आयोजक घोषणा गरेका हुन् ।
साथै सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रुपमा आयोजना गर्ने छन्। यो घोषणा पछि अनुभवी फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले सामाजिक संजालमा एक पोस्ट साझा गरेका छन् । उनले लेखेका छन्, ‘अहिलेसम्मको सबैभन्दा विशेष विश्वकप, सपना साकार भयो । पोर्चुगलले २०३० को विश्वकप आयोजना गर्नेछ र हामी यसमा गर्व गर्छौं।’
यसअघि सन् १९३० मा उरुग्वेले विश्वकप आयोजना गरेको थियो । यो देशले सय वर्षपछि २०३० को विश्वकपको पहिलो खेल आयोजना गर्नेछ। उद्घाटन समारोह पनि यही देशमा हुनेछ । उरुग्वे बाहेक, अर्जेन्टिना र पाराग्वेले पनि २०३० विश्वकपको एक–एक खेल आयोजना गर्नेछन्।
अर्को विश्वकप सन् २०२६ मा हुने भएको छ । यसलाई संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्दैछन्। विश्वकपको पछिल्लो सिजन २०२२ मा कतारमा भएको थियो । यो विश्वकप अर्जेन्टिनाको टोलीले जितेको थियो । टोलीले फाइनल खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो ।




















