साउदीमा हुने एएफसी एसियन कप छनोटको तेस्रो चरण ड्र सम्पन्न, नेपाल समूह ‘एफ’मा।

काठमाडौं := सन् २०२७ मा साउदी अरबमा हुने एएफसी एसियन कप छनोटको तेस्रो चरण ड्र सम्पन्न भएको छ । जसमा नेपाल समूह ‘एफ’मा परेको छ । सोमबार मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा भएको ड्र अनुसार नेपाल रहेको समूहमा भियतनाम, मलेसिया र लाओस छन् ।

लाओससँग नेपालले विश्वकप र एसियन कप छनोटको प्रारम्भिक चरणमा समेत खेलेको थियो । जसमा घरेलु मैदानमा लाओससँग बराबरी खेलेको नेपालले अवे मैदानमा जित हात पार्दै अघिल्लो चरणमा पुगेको थियो ।नेपालले भियतनामसँग अहिलेसम्म दुई खेल खेलेकोमा दुवैमा पराजित भएको छ ।

मलेसियासँग भने सात खेल खेल्दा ६ खेलमा पराजित भएको नेपालले एक खेल बराबरी गरेको छ । लाओस सँग भने पाँच खेल खेल्दा नेपाल अपराजित छ । चार खेल नेपालले जितेको छ भने एक खेल बराबरी भएको छ ।

तेस्रो चरणमा २४ टिमलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा चार टिम छन् । समूहका खेलहरू होम एण्ड अवेका आधारमा खेलाइने छ र हरेक समूहको समूह विजेता एसियन कपमा छनोट हुने छन् । यसअघि नै दोस्रो चरणको छनोटबाट १८ टिमले २०२७ को एसियन कपमा स्थान पक्का गरिसकेका छन् ।