नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्टसको लगातार चौथो जीत।

काठमाडौं := नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले रोमाञ्चक जित हासिल गरेको छ। लुम्बिनी लायन्सलाई एक रनले पराजित गर्दै जनकपुरले एनपीएलमा लगातार चौथो जित निकाल्यो।

जनकपुर बोल्ट्सले दिएको एक सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनायो। लुम्बिनीका लागि कप्तान रोहित पौडलले सर्वाधिक रन बनाए। उनले ३८ बलमा ३ चौकाको मद्दतमा ३५ रन बनाए। यस्तै टम मुर्सले ३१, अर्जुन साउदले २० तथा सन्दीप जोराले ८ बलमा १६ रन बनाए बनाए।

जनकपुरका लागि हर्ष ठाकेर एक्लैले पाँच विकेट लिए। यस्तै ललित राजवंशी, किशोर महतो र शेर मल्लले समान एक एक विकेट लिए। त्रिवि मैदान कीतिपुरमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३६ रन बनाएको थियो।

जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक रन बनाए। उनले ३९ बलमा एक चौका र ४ छक्का प्रहार गर्दै ४५ रन बनाए। यस्तै लाहिरु मिलान्थाले २४, आसिफ शेखले १६ रन बनाउँदा शुभ कंसाकारले २२ रन बनाए।

लुम्बिनीका अभिशेष गौतमले ३ विकेट लिए भने कप्तान रोहित पौडेल र साद बिन जाफरले समान दुई दुई तथा सन्दीप जोराले एक विकेट लिए। जनकपुरले जारी एनपीएलमा अपराजित छ। उसले यसअघि विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सलाई हराएको थियो।

 लुम्बिनी भने प्रतियोगितामा जितविहीन छ। यसअघि तीनमा तीनै खेल हारेको लुम्बिनी अंक तालिकामा पनि पुछारमा छ। लुम्बिनी विराटनगर, पोखरा र सुदूपश्चिमसँग हार व्यहोरिसकेको छ।