काठमाडौं := हिमालयन विल्डर्स एण्ड इञ्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले मंगलबार सिसन बानियाँलाई ‘युथ ब्राण्ड एम्बेसडर’ नियुक्त गरेको छ । उहाँ नेपाली भ्लगिङ समुदाय र नेपाली सिनेमामा परिचित हुनुहुन्छ ।
ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ । उहाँ एनपिएल खेल्ने सबैभन्दा ठूलो नाम हो ।
त्यस्तै टोलीमा वेष्ट इण्डिजबाट टेष्ट खेलिसकेका चादविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्वकप्तान जिसन मक्सुदलाई अनुबन्ध गरेको छ ।
टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहनुभएका गुल्सन झा, देव खनालसहित नन्दन यादव हुनुहुन्छ । ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की हुनुहुन्छ । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे हुनुहुन्छ ।
ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ । यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ। प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ । कर्णाली याक्सले आफ्नो पहिलो खेल जनकपुरसँग खेल्नेछ ।




















