नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिने घोषणा, कति र कसले पाउछ छुट ?

काठमाडौं := नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बिशेष निर्देशन आए अनुसार विभिन्न अन्तर्राष्ट्रिय उडानमा छुट दिने घोषणा गरेको जानकारी दिएको छ ।

नेपाल एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दश घण्टा बन्द भएको कारण तत्कालिन अवस्थामा विभिन्न वायुसेवाहरुको हवाई उडानहरु कटौति भएको र सोही समयमा नेपाल गन्तव्य उच्च पर्यटकीय मौसम तथा नेपलीहरुको महान् चाडपर्व समेत परेकोले हवाई भाडादर बढेको भनिएको भएपनि आफ्नो भाडा दर अघिल्लो बर्षको भाडादरको दायरा भित्र नै रहेको दाबि गरेको छ ।

निगमले नियमानुसार उपलव्ध गराएको दरभन्दा वढि मुनाफा लिएर कालोबजारी गरेको पाईएमा नियमानुसार कडा कारवाही गर्नको लागि सप्रमाण जानकारी गराउन सम्वन्धित सवैमा अनुरोध गरेको छ छ । नेपाल एयरलाइन्सले दिल्ली, मुम्वई र वैंगलोर सेक्टरको लागि बजार भाडादरमा २५ सय छुट दिने घोषणा गरेको छ ।

त्यस्तै दोहा, दुवई, दमाम, क्वालालम्पुर, हङकङ, वैंकक र नारिता सेक्टरको लागि बजार भाडादरमा ५ हजारसम्म छुट दिएको जनाएको छ । साथै २१ जना सरकारी कर्मचारीहरुलाई १५ प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको जानकरी दिएको छ । एयरलाइन्सले उपरोक्त छुट जहाजको सिट उपलव्धता अनुसार पहिलो आउनेलाई पहिलो प्राथमिकताको आधारमा उपलब्ध गराइने र सो को लागि यात्रु स्वयं परिचय पत्रसहित उपस्थित हुनु पर्ने जानकारी दिएको छ।

नेपाल एयरलाइन्सको सामाजिक उत्तरदायित्व अन्तर्गत २०२४ नोभेम्वर १ देखि २२ तारिख सम्मको अवधिमा सम्वद्ध परिवारलाई थोरै भए पनि राहत पुगोस भनि डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसमा निगमको काठमाडौं–दिल्ली–काठमाडौं सेक्टरको हवाई भाडादरमा ३७ जना अर्वुदरोग भएका विरामीलाई सत प्रतिशत छुट, ३३ जना निज विरामीहरुका कुरुवाहरुलाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको जानकारी दिएको छ ।