एनआरएनए राष्ट्रिय समन्वय परिषद् इजरायलले अन्तर्राष्ट्रिय स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने।

इजरायल := गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् इजरायलले अन्तर्राष्ट्रिय स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

प्रतियोगिता यहीँ मिति सन् २०२४ नोभेम्वर २४ तारिखमा विश्वभर रहेका नेपालीहरूको कला एवं प्रतिभा उजागर गर्दै विश्वमा रहेका राष्ट्रिय समन्वय परिषद्हरूबीच सम्बन्ध र सहकार्यलाई वृद्धि गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता गर्न लागेको हो ।

एनआरएनए इजरायलका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । त्यस्तै द्वितीयलाई एक लाख र तृतीयलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

इजरायललगायत विश्वका विभिन्न देशमा वैदेशिक रोजगारी, अध्ययन, व्यवसायलगायत विभिन्न सिलसिलामा बसोवास गर्दै आएका नेपालीहरूले सहभागिता जनाउन पाउने संघका महासचिव अलि मोहम्मद मियाले जानकारी दिनुभयो ।

प्रतियोगिता अनलाइन माध्यमबाट हुनेछ । त्यसका लागि अनलाइनमार्फत फाराम भर्न सकिने र दर्ता शुल्क २० यूरो तथा ५० सिकेल (इजरायली रुपैयाँ) तोकिएको छ । प्रतियोगिता समृद्ध नेपाल, गैरआवासीय नेपालीहरूको भूमिका, गैरआवासीय नेपालीहरूको साझा अभियान ः वैदेशिक सिकाइ र लगानी हाम्रो स्वाभिमानलगायत विषयमा हुने जनाइएको छ ।