दनुवार जातीले धुमधामका साथ मनाउने ‘बर्की एकादशी’ पर्व, कसरी मनाउँछ त ?

सिन्धुली:= बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय, बहुधार्मिक र बहुआयामिक देश हो, नेपाल । यहाँ बसोवास गर्ने सबै समुदाय, धर्म, वर्ग, जातजाती, भाषाभाषीका आ-आफ्नै विविध चाडपर्वहरू छन् ।

त्यस्तै, नेपाल सरकारद्वारा सूचिकृत आदिवासी जनजातिमध्य अतिसीमान्तकृत आदिवासी-जनजातीको समूहमा पर्ने पहिले “दनुवार थारु जाती” अहिले दनुवार जातिको छुट्टै मौलिक सांस्कृतिक पहिचान छ । यस समुदायले विशेष चाडपर्वका रूपमा बर्की एकादशी मनाउँछन् ।

कात्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधनी एकादशी पर्वलाई दनुवार समुदायले बर्की एकादशीका रूपमा आफ्नो संस्कृति अनुसार चार दिन मनाउँदै आएका छन् ।

पहिलो दिन
यस दिन नुहाएर शुद्ध शाकाहारी भोजनमात्रै खाने गर्दछन्। धार्मिक तथा सामाजिक रूपमा अशुद्ध मानिने कुुनै पनि खानेकुरा खाँदैनन् । माछा, मासु, लसुन, प्याज, मासको दाल आदिलाई अशुद्ध मान्दछन् ।

द्रोस्रो दिन
दनुवार समुदायका किशोरी तथा महिलाहरू आ–आफ्नो टोलको मुखियाको घरमा भेला हुन्छन् । मुखियाले रीति अनुसारको विधि गरिदिएपछि व्रत प्रारम्भ हुन्छ । त्यसपछि आफूलाई पायक पर्ने नदी तलाउमा नुहाउन जाने चलन छ । नदीमा नुहाई शुद्ध वस्त्र पहिरिएर पवित्र भइसकेपछि नदीबाट कलशमा जल लिएर सिधै दिवार (आ-आफ्नो मुखिया टोलमा बनाएको मन्दिर) मा पुगी पाँचपटक परिक्रममा गर्दछन् ।

त्यसपछि, पूर्व फर्किएर जल चढाउने गर्छन् । आस्थाका भगवान्लाई अगरबत्तीको धुप दिन्छन् । नरिवल, छकडा, मिस्री, चुपारी, लवाङ प्रसादका रूपमा चढाउँछन् । सोही अनुसार बर-पिपललगायत आफ्नो घरवरपर रहेका बोटबिरुवालाई जल चढाउने परम्परा छ । यसदिन व्रत गर्नेले रातमा एक छाक शाकाहारी भोजनमात्रै गर्छन् । सब्जीमा तोरीको साग खाने चलन छ । खाना खाँदा बोल्न नहुने मान्यता छ ।

तेस्रो दिन
यो पर्वको मुख्य दिन हो । अघिल्लो दिनको विधि पुनः दोहो¥याइन्छ । यसदिन कलसमा नरिवल, छोकडा, मिस्री, चुपारी, लवाङ, विडी बोकेर समूहमा हिँड्ने गर्दछन्। बाटोमा भेटिएका चिनजान र आफन्तलाई प्रसादका रूपमा बाड्ने चलन छ । बालबालिकाले बाटोमा रुमाल, सल थाप्ने र बाटोमा पैदल हिँडेका व्रतालुहरूले नरिवल, छकडा, मिस्री, चुपारी, लवाङ दिइने प्रचलनसमेत छ । यसदिन विशेषगरी दनुवार समुदायका महिला आफ्नो भेषभूषामा सजिएका हुन्छन् ।

सेतो सारी, कालो चोलो, हंसली, नथियाँ, फुँलिया, सिरबन्दी, मथा, डबल पैसाको मालालगायतका गरगहना र पहिरनमा सजिएर चिटिक्क हुन्छन् । यसदिन व्रतालुले जथाभावी बस्न नहुने र बसिहाल्नु परे मुखिया अधिकारीले दिएको चामलले भूमिको पूजा गरेरमात्र बस्नुपर्ने रीतिथिति छ । यसदिन भजन, कीर्तन गरेर नृत्य गरी दिनभर निराहार रातभर जाग्राम बस्ने परम्परा छ ।

चौथो दिन
पर्वको अन्तिम दिन विहान सबेरै नदीमा गएर नुहाएर तुलसीको पात, अमला वा ल्वाङ, सुकुमेल टोकेर नदीमा फालिन्छ यसलाई पारन गरेको भन्ने चलन छ । त्यसपछि व्रतालुहरू घर फर्किन्छन् । घरमा आएर तुलसीमा जल चढाउँछन् । महिलाहरूलाई दाइ वा भाइले एकादशी गरेको हो भनेर पाँचपटक सोध्ने गर्दछन् । व्रतालुले विधिवत् रूपमा व्रत सम्पन्न गरेको हो भनेपछि दही–चिउरा खाएर बर्की एकादशी पर्व समापन गर्दछन् ।

यसरी विधिपूर्वक व्रत बसेमा दुःख, दरिद्रताबाट मुक्ति पाइनुका साथै आफू र परिवारमा खुशी, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहेको दनुवार समुदायकी अगुवा मुसो अधिकारी दनुवारले हिमालय टाइम्सलाई बताउनुभयो ।

‘बर्की एकादशी दनुवार जातिले महत्वका साथ मनाउँछन्। विधिपूर्वक कठोर व्रत बस्छन् । यसो गर्दा सबैलाई शान्ति, खुशी र सुख मिल्ने विश्वास छ’, उहाँले भन्नुभयो । बर्की एकादशी पर्वमा विशेष गरेर दनुवार समुदायका अविवाहित महिलाहरूले व्रत बसी आफू, परिवार र सुयोग्य वर प्राप्ति तथा खुसी, सुख र शान्तिको कामना गर्ने गर्दछन् ।

संस्कारको संरक्षण गर्न सांस्कृतिक महोत्सव
दनुवार जातिले बोल्ने दनुवारी भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यायलले दनुवार जागरण समिति, सिन्धुलीले विसं २०७५ सालदेखि जिल्लामा दनुवार सांस्कृतिक महोत्सवको आयोजना गर्दै आएको छ ।

समितिकी सचिव पुष्पा दनुवारका अनुसार महोत्सवमा विशेष दनुवारी झाँकीका साथ बर्की नाच प्रदर्शन गर्नुका साथै दनुवार समुदायको भेषभूषामा सजिएर व्रतालुले कलस बोकेर र्‍याली प्रदर्शनलगायत कार्यक्रम हुने गर्दछन् ।

यसवर्ष कमलामाई नगरपालिका-१४ चन्दनपुरमा उक्त कार्यक्रम आयोजना गरिने दनुवार जागरण समितिले जानकारी दिएको छ । बर्की एकादशीको अवसरमा यस वर्ष शुभकामना आदान-प्रदान तथा खेलकुदका कार्यक्रमसमेत आयोजना गरिएको समितिकी सचिव पुष्पा दनुवारले बताउनुभयो ।

दनुवारको बाहुल्यता रहेको दूधौलीमा बिदा
दनुवारको मौलिक कला, दनुवारी भाषा, संस्कृति र संस्कारको संरक्षण तथा संवर्धनका लागि जिल्लामै दनुवार समुदायको बाहुल्यता भएको दूधौली नगरपालिकाले बर्की एकादशी पर्वको तेस्रो अर्थात् मुख्य दिन वर्षेनी सार्वजनिक बिदासमेत दिँदै आएको छ ।

बहुसंख्यक आदिवासी दनुवार जातिको विशेष पर्व हरिबोधनी एकादशी (बर्की एकादशी) को उपलक्ष्यमा वर्षेनी बिदा दिन थालिएको नगरप्रमुख दिनेशकुमार अधिकारी दनुवारले जानकारी दिनुभयो ।

उहाँका अनुसार १ मंसिर २०७५ मा बसेको दूधौली नगर कार्यपालिको बैठकको निर्णय बमोजिम यस वर्ष पनि कात्तिक २७ गते अर्थात् बर्की एकादशीको मुख्य दिन सार्वजनिक बिदा दिइएको छ । यसदिन नगरअन्तर्गत रहेका सरकारी कार्यालय, विद्यालय, संघसंस्थामा सार्वजनिक बिदा दिने निर्णय भएको उहाँले बताउनुभयो ।

बर्की एकादशी मनाउने शैली बदलिँदै
समयको अन्तरासँगै दनुवार समुदायको लोकप्रिय पर्व बर्की एकादशी पर्व खर्चिलो र भड्कीलो मात्रै बन्दै गएको छैन, दनुवार जातीको गर्विलो इतिहास तथा सांस्कृतिक पहिचानसमेत लोप हुने अवस्थामा पुगेको छ । देखासिकी र आधुनिकीकरणको बढ्दो प्रयोगले पर्व मनाउने शैली बदलिँदै जाँदा संस्कार, संस्कृति, पहिचान गुम्ने खतरा बढेको दनुवार समुदायका अगुवा बताउँछन् ।

१० वर्षअघिसम्म बर्की एकादशीमा व्रतालुले टाउकोमा एकै प्रकारको कलश र प्रसाद बोकेर दिनभर पदैल हिँड्ने र रातभर भजन, कीर्तन गाउँदै, नाच्दै जाग्राम बस्ने गर्दथे । यसले बालबालिका, ज्येष्ठ नागरिक सबैलाई जोड्थ्यो । समुदायबीचको सम्बन्धलाई थप प्रगाड बनाउन सहयोग पुग्थ्यो ।

समयको अन्तरालसँगै ग्रामीण सडक सुधार भयो । सवारीसाधनको सहजता थपियो । यसको प्रयोगले सजिलो र सुविधा त भएको छ तर परम्परागत पदैल धार्मिक कलश यात्राको सुन्दर र महत्वपूर्ण अनुभूति गुम्दै जान थालेको दनुवार जागरण समिति, सिन्धुलीका सल्लाहाकार किसुनलाल कुमर दनुवारले हिमालय टाइम्सलाई बताउनुभयो ।

उहाँका अनुसार पर्व खर्चिलोसमेत हुँदै गएको छ । देखासिकी गरेर व्रतालुले पहिरन र गरगहनामा बढी खर्च गर्ने, संस्कृति झल्कने दनुवारी गीत, भजन बिर्सेर डिजे बाजाको तालमा उफ्रिने र समाजमा पर्वको नाममा विकृति भिœयाइन थालिएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

दूधौली नगरप्रमुख दिनेशकुमार अधिकारी दनुवारले वास्तविक दनुवार जातिको संस्कार, संस्कृति, परम्परा झल्किने तथा दनुवारको पहिचान बचाउने खालका कार्यक्रमभन्दा पनि डिजेबाजा बजाएर उफ्रिने संस्कारको विकास भएकोमा चिन्ता व्यक्त गर्नुभयो । जातीय पहिचान जोगाई राख्न दनुवारी पहिचानको विकास र विस्तार गर्दै जान उहाँको आग्रह छ ।

यसका लागि स्थानीय सरकारका रूपमा रहेको दूधौली नगरको कार्यालयले आवश्यक पहल गर्ने उहाँले बताउनुभयो । बर्की एकादशी भड्किलो र खर्चिलो बन्दै गएकोप्रति चासो व्यक्त गर्दै उहाँले सभ्यसँग मनाउन अनुरोधसमेत गर्नुभयो । दनुवार समुदायको बसोबास सबैभन्दा बढी सिन्धुलीमा रहेको दनुवार जागरण समितिले जनाएको छ । सिन्धुलीको पनि दूधौली नगरपालिकामा यस जातिको विशेष बसोवास रहेको छ ।