प्रतिष्ठित चलचित्र ‘पूर्णबहादुरको सारंगी’ नेपालसंगै अन्तर्राष्ट्रिय बजारमा पनि प्रदर्शनमा।

काठमाडौं := मंगलबारदेखि चलचित्र ‘पूर्णबहादुरको सारंगी’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनमा आएको छ । नेपालीहरूको दोस्रो महान् चाड तिहारको छेको पारेर यही कात्तिक १५ गते लक्ष्मीपूजाका दिनदेखि सिनेमाघरमा आएको यो चलचित्र अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनमा आएको हो ।

तिहारको घरेलु बक्स अफिसमा ‘पूर्णबहादुरको सारंगी’ले आक्रामक कमाइ गरिरहेको छ । भारतीय चलचित्र ‘सिंघम अगेन’ र ‘भुलभुलैया ३’ले नेपाली बक्स अफिसमा कमजोर ब्यापार गरिरहँदा यसको फाइदा विजय बराल स्टारर ‘पूर्णबहादुरको सारंगी’ले उठाएको छ ।

स्वदेशमा उत्कृष्ट कमाइ गरिरहँदा यो चलचित्र मंगलबार अन्तर्राष्ट्रिय बजारमा रिलिज भएको हो । मंगलबार टोकियोबाट फिल्मले अन्तर्राष्ट्रिय यात्रा थालेको छ । आउँदो बिहीबार अष्ट्रेलिया र मध्यपूर्व, शुक्रबारदेखि अमेरिका र बेलायतमा प्रदर्शनको टुंगो लागेको छ ।

अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले आफ्नो निर्माणको पहिलो चलचित्रलाई बृहतरुपमा विदेशी बक्स अफिसमा रिलिज गर्ने तयारी गरेको छ ।‘अहिलेसम्मकै उच्च शो र बजारमा यस चलचित्रलाई बृहत् रूपमा रिलिज गर्दैछौं’ कार्यकारी निर्माता तथा मध्यपूर्व वितरक रमेश ढकालले भन्नुभयो, ‘नेपाली चलचित्रले अहिलेसम्म पाएको भन्दा सर्वाधिक रूपमा यो चलचित्र लाग्नेछ ।’

सेभेन सिजले दशैँमा वितरण गरेको ‘छक्कापञ्जा ५’ ले विदेशमा राम्रो कमाइ गरेको थियो । सेभेन सिजका सदस्यद्वय विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेको ‘पूर्णबहादुरको सारंगी’को पहिलो चलचित्र हो ।शीर्ष अभिनेताको रूपमा विजय बरालको यो पहिलो चलचित्रसमेत हो ।

यस चलचित्रमा बाबुछोराको कथा छ । चलचित्रमा विजयसहित बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइली, देशभक्त खनाल, अलिशा बास्कोटा, मुकुन भुसाल, भोलाराज सापकोटाको अभिनय छ ।
सरोज पौडेल निर्देशित यो चलचित्रलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गर्नुभएको हो । चलचित्रको पटकथा र संवाद महेश दवाडीले लेख्नुभएको हो ।