काठमाडौं := सहकारी ठगी र संगठित अपराधको मुद्दामा पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तिहार हिरासतमै बित्ने भएको छ । अनुसन्धानका लागि लामिछानेलाई जिल्ला अदालत कास्कीले बिहीबार सात दिनको म्याद थपेसँगै उहाँको तिहार हिरासतमै बित्ने भएको हो ।
जिल्ला अदालत कास्कीका ६ नम्बर न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप सात दिन म्याद थप्न अनुमति दिएको हो । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ पर्नुभएको थियो । उहाँलाई सोही दिन राति पोखरा लगिएको थियो ।
शनिबार सार्वजनिक बिदा परेकाले आइतबार अदालतमा उपस्थित गराइएको थियो । अदालतले प्रहरीलाई अनुसन्धानका लागि भनेर पक्राउ परेकै दिन अर्थात् शुक्रबारबाटै गणना हुने गरी ६ दिन म्याद दिएको थियो । दोस्रोपटक थपिएको म्याद कात्तिक १४ गते राति १२ बजेसम्म हुन्छ । म्याद सकिएको भोलिपल्ट अदालतमा हाजिर गराउनुपर्ने हुन्छ ।
तर, दोस्रोपटक थपिएको म्याद सकिएको भोलिपल्ट अर्थात् कात्तिक १५ गतेदेखि तिहारको सार्वजनिक बिदा छ । १५ गतेदेखि १९ गतेसम्म सार्वजनिक बिदा नै छ । त्यसकारण उहाँलाई २० गते मंगलबार मात्र अदालतमा लगिनेछ । अदालतमा फेरि म्याद थप गर्ने÷नगर्ने भन्नेबारे बहस हुनेछ । त्यतिबेला म्याद थपियो भने तिहार बिदासमेत गणना हुन्छ । त्यसो त, उहाँले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्न सक्नु हुनेछ ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको भन्दै गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशीसहित १८ व्यक्ति र संस्थाविरुद्ध किटानी जाहेरी परेको थियो । यही प्रकरणमा गोर्खा मिडिया प्रालिका तत्कालीन अध्यक्ष जिबी राई भने फरार छन् ।
गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छविविरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ । सूर्यदर्शन सहकारीबाट पाँच करोड ५८ लाख नौ हजार रुपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ । जिबी राई नेतृत्वको देशभरका सहकारीबाट ६५ करोड प्रत्यक्ष रूपमा गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको छ ।
रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट एक करोड रुपैयाँ लिएर गोर्खा मिडियाको नाममा ऋण मिलान गरेको वित्तीय प्रतिवेदनमा समेत उल्लेख छ । सहकारी ठगी प्रकरणमा रविसहित माओवादी केन्द्रका विद्यार्थी नेता दीपेश पुनसहित व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध पीडितले पूरक जाहेरी दिएका थिए ।
पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन, नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियल स्टेट, गोर्खा गु्रप इन्भेस्टमेन्ट, गोर्खा आयुर्वेद प्रालि लगायतलाई विपक्षी बनाएर उनीहरूले पूरक जाहेरी दिएका थिए ।