चर्चित मराठी अभिनेता अतुल परचुरेको ५७ वर्षको उमेरमा निधन।

मुम्बई:= चर्चित मराठी अभिनेता अतुल परचुरेको ५७ वर्षको उमेरमा निधन भएको छ । एक वर्षअघि मात्र उहाँले क्यान्सरबाट निको भएको जानकारी दिनुभएको थियो । अतुल परचुरे मराठी र हिन्दी सिनेमाका चर्चित अभिनेता हुनुहुन्थ्यो। उहाँले मराठी चलचित्र, नाटक र धारावाहिकमा अभिनय गर्नुभएको छ । उहाँ ‘द कपिल शर्मा’ शोमा फरक फरक भूमिकामा देखिँदै आउनुभएको थियो ।

क्यान्सरबाट निको भएर अतुल परचुरेले फेरि अभिनय गर्न थाल्नुभएको थियो । तर, पाँच दिनअघि फेरि समस्या बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उहाँको निधन भएको हो ।भारतीय राज्य महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले सामाजिक सञ्जालमार्फत अभिनेता अतुल परचुरेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।