थाकस मलेसियाद्वारा यहीँ सेप्टेम्बर २९ तारिख जितिया बिशेष साँस्कृतिक आयोजना हुँदै।

क्वालालम्पुर (मलेसिया):= थारु कल्याणकारिणी सभा “थाकस” मलेसिया केन्द्रिय कार्यसमितिको आयोजनामा इतिहासमै पहिलोपटक “प्रथम जितिया बिशेष साँस्कृतिक  कार्यक्रम” आयोजना हुने भएको छ ।

जितिया बिशेष साँस्कृतिक कार्यक्रम यहीँ सेप्टेम्बर २९ तारिख आईतवारको दिन क्वालालम्पुरमा अवस्थित होटेल द-फाईभ इलिमेन्टमा दिउँसो ठ्याक्कै १२ देखि सुरु भैइ साझ ०४:०० बजेसम्म अन्त्य हुने थाकस मलेसियाका अध्यक्ष ज्ञानचन्द्र चौधरीले जानकारी दिनुभयो ।

जितिया बिशेष साँस्कृतिक कार्यक्रममा थारु समुदायको संस्कृति झल्किने नृत्यसंगै प्रमुख खानाको परिकारसंगै बिशेषगरि जितियामा खाइने दहीचिउरा , माछाको परिकार उपस्थित सबैलाई खान दिइने तयारी भैइरहेको अध्यक्ष चौधरीले बताउनुभयो ।

कार्यक्रममा उपस्थितिको लागि प्रमुख अतिथिको रुपमा नेपाली राजदूतावास क्वालालम्पुर मलेसिया र बिशेष अतिथिमा नेपाल आदिवासी जनजाती महासंघ मलेसियालगायत यहाँ रहेका अन्य सबै संघसंस्थालाई निमन्त्रणा गरिसकिएको अध्यक्ष चौधरीले बताउनुभयो ।

नेपालका तराईवासी थारु समुदाय संगै मधेसी समुदायका  महिलाहरुले मनाउने पर्व हो – ‘जितिया’ । यो पर्वलाई सन्तानको सुख आनन्द र प्रगतिको कामनाका लागि मनाइन्छ । हरेक वर्षको आश्विन कृष्ण अष्टमीका दिन यो पर्व मनाउने प्रचलन छ ।

विशेषगरी आमाले आफ्ना सन्तानको सुख शान्ति र समृद्धिको कामना गर्दै पानीसमेत नखाई २४ घण्टासम्म भगवान जितबाहन गोँसाईको पूजा आराधना गरी व्रत बस्ने परम्परा छ ।

जितिया व्रत कुनै धनधान्य र आरोग्यको लागि नभई नितान्त आमाको माया सन्तान प्रति कस्तो हुन्छ त ? भन्ने कुरा यस व्रतको कथामा उल्लेख गरिएको छ । यो पर्व आश्विन कृष्ण पक्षको सप्तमी देखि नवमीसम्म तीन दिन लगातार खुल्ला आकाश मुनि विभिन्न नाचगान गरी मनाईन्छ ।