आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा सिरिजमा नेपालले लगातार तेस्रो हार।

क्यानडा:= आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । क्यानडाको किंग सिटी नर्थ वेस्ट क्रिकेट मैदानमा आइतबार राती भएको खेलमा नेपाल घरेलु टोली क्यानडासँग ५ विकेटले पराजित भएको हो ।

१८२ रनको लक्ष्य क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । क्यानडाका नवनीत धालिवालले ११३ बलमा सर्वाधिक ८७ रन बनाउनुभयो । परगत सिंहले ८३ बलमा ६४ रन बनाउनुभयो । बलिङमा नेपालका सन्दीप लामिछाने २, ललित राजवंशी, करण केसी, गुलशन झाले १-१ विकेट लिनुभयो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा सबै विकेट गुमाएर १८१ रनमात्र बनाएको थियो । खराब सुरुवात गरेको नेपालले ८७ रन बनाउँदासम्म सात विकेट गुमाइसकेको थियो । क्यानडेली बलरमध्ये कलिम साहले तीन र डिलान हेयलिगरले दुई विकेट लिनुभयो ।

नेपाललाई केही सम्मानजनक स्कोरसम्म पु¥याउन तल्लो क्रमका ब्याटरले भूमिका खेले । त्यसमध्ये गुलशन झाले ३४, सोमपाल कामीले २१ रन सन्दीप लामिछानेले ४९ र करण केसीले २४ रन बनाउनुभयो ।

सोमपाल कामीले सन्दीपसँग आठौँ विकेटका लागि ५५ रनको साझेदारी गर्दा नेपालले सम्मानजनक स्कोर खडा गरेको थियो । त्यसअघि नेपालले १२ ओभरभित्रै महत्वपूर्ण पाँच विकेट गुमाउँदा खराब सुरुवात गरेको थियो । ओपनर आसिफ शेख पाँचौँ ओभरमा कलीम सनाबाट बोल्ड हुनुभएको थियो ।

अर्का ओपनर अर्जुन साउद २७ बल खेल्दा १ चौका प्रहार गरेर १० रनमा आउट हुनुभयो । अर्जुन आउट भएको अघिल्लो ओभरमा नेपालले भीम सार्कीलाई ४ रनमा दोस्रो विकेटका रूपमा गुमाएको थियो । कप्तान रोहितकुमार पौडेल ११औँ ओभरमा ४ रन बनाएर खेलिरहँदा रनआउट हुनुभयो ।

लगत्तै अर्को ओभरमा नेपालले अनिलकुमार साहलाई १ रनमा गुमायो । त्यसपछि आरिफ शेख १० रनमा आउट हुनुभएको थियो । गुल्सन झाले ५६ बलमा २ चौका र २ छक्का प्रहार गर्दा ३४ रन बनाउनुभयो । नेपाललाई ५ विकेटले हराउँदै क्यानडा अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।

क्यानडा ११ खेलबाट १४ अंक बुटलेर लिग तालिकाको शीर्षमा उक्लेको हो । लगातार तेस्रो हारपछि नेपाल सात खेलबाट दुई अंकमै सीमित रहेर आठ टिममध्ये सातौँमा छ । नेपाल यी सात खेलमा एकमात्र जित निकाल्न सफल रहेको छ ।