एजेन्सी := श्रीलंकामा पहिलो वामपन्थी राष्ट्रपतिका रूपमा अनुरा कुमारा दिशानायके चुनिनुभएको छ । श्रीलंकाको बागडोर सम्हाल्ने ५५ वर्षीय दिशानायके नवौँ राष्ट्रपति बन्नुभएको हो । लामो समयदेखि राजनीतिमा सक्रिय दिशानायके कम्युनिष्ट विचारधारा मान्ने नेता हुनुहुन्छ ।
लामो आर्थिक संकटको सामना गरेको श्रीलंकाका जनताले राष्ट्रिय जनशक्ति (एनपिपी) गठबन्धनका नेता दिशानायकेलाई भावी राष्ट्रपतिका रूपमा निर्वाचित गरेका हुन् । उहाँ भ्रष्टाचारविरोधी अभियान र गरिब-समर्थक नीतिका कारण लोकप्रिय बन्नुभएको हो ।
दिशानायकेले सोमबार पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । श्रीलंकाको निर्वाचन आयोगले आइतबार दिशानायकेलाई मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको थियो । शनिबार भएको निर्वाचनमा उहाँले ४२ दशमलव ३१ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा विजयी हुनुभएको थियो ।
विपक्षी दलका नेता सजिथ प्रेमदासा ३२ दशमलव ७६ प्रतिशतका साथ दोस्रो स्थानमा रहनुभएको थियो भने सन् २०२२ को आर्थिक संकटको चरम अवस्थामा पदभार सम्हाल्नुभएका र अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) बेलआउटको सर्तअनुसार कठोर मितव्ययिता नीतिहरू लागू गर्नुभएका निवर्तमान राष्ट्रपति रनिल विक्रामासिंघे १७ दशमलव २७ प्रतिशतका साथ तेस्रो स्थानमा रहनुभएको थियो ।
सन् २०२२ मा श्रीलंकामा आएको आर्थिक मन्दीका कारण आम श्रीलंकावासीले पीडादायी कष्ट भोग्नुपरेपछि दिशानायकेको समर्थनमा वृद्धि भएको थियो। सांसदहरू, बौद्ध धर्मगुरुका सदस्यहरू र समारोहबीच दिसानायकेले प्रधान न्यायाधीशसमक्ष शपथ ग्रहण गर्नुभएको हो ।
शपथ ग्रहणपछि दिशानायकेले भन्नुभयो, ‘जनताको राजनीतिज्ञप्रतिको विश्वासलाई पूर्ण रुपमा पुनःस्थापित गर्न म सक्दो प्रयास गर्नेछु,’ उहाँले भन्नुभयो, ‘म जादुगर होइन । मैले जानेका कुराहरू छन् र मलाई थाहा नभएका कुराहरू पनि छन्, तर म उत्तम सल्लाह लिनेछु र मेरो सर्वोत्तम प्रयास गर्नेछु । त्यसका लागि मलाई सबैको सहयोग चाहिन्छ ।’
राजनीतिक यात्रा
१९६८ नोभेम्बर २४ मा मध्य श्रीलंकाको गालेवेला नामक सानो शहरमा जन्मिनुभएका दिशानायके मध्यमवर्गीय परिवारमा हुर्किनुभएको हो । उहाँले सार्वजनिक विद्यालयमा आफ्नो प्रारम्भिक शिक्षा हासिल गर्नुभयो भने भौतिकशास्त्रमा डिग्री गर्नुभएको छ । विद्यार्थी जीवनमै उहाँ राजनीतिमा सक्रिय बन्नुभएको थियो ।
१९८७ मा भएको भारत-श्रीलंका सम्झौताका कारण उत्पन्न भएको विवादका बेला राजनीतिप्रति उहाँको झुकाव बढेको थियो । सन् १९८७ देखि १९८९ सम्म श्रीलंकाली सरकारले सामना गरेको राजनीतिक संकटका बेला दिशानायकेको दल एभिपी सत्ताविरोधी सशस्त्र आन्दोलनमा समावेश भयो । यो हिंसात्मक संघर्षले हजारौँको ज्यान लियो ।
सन् १९९७ मा दिशानायके उक्त दलको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । सन् २००८ मा उहाँले यस दलको नेतृत्व नै सम्हाल्नुभयो । हिंसात्मक अतीतका विषयमा उहाँले सन् २०१४ मा बिबीसीसँगको एक अन्तर्वार्तामा आफू र आफ्नो समूहले गरेका कतिपय कार्यहरू अस्वीकार्य रहेको बताउनुभएको थियो । यसपटकको चुनावमा उहाँको दल एनपिपी गठबन्धनअन्तर्गत चुनाव लडेको थियो ।
आर्थिक पुनरुत्थानको महत्वपूर्ण जिम्मेवारी
श्रीलंकका चुनावी नतिजापछि दिशानायकेमाथि श्रीलंकाको आर्थिक पुनरुत्थानको महत्वपूर्ण जिम्मेवारी आएको छ । उहाँले संसद् विघटन गरेर स्वच्छ म्यान्डेटका लागि पुनर्निर्वाचनको योजना बनाउनुभएको छ । उहाँको नेतृत्वमा जनताले आर्थिक संकटबाट मुक्तिका अलावा पारदर्शिता, न्याय र दीर्घकालीन स्थायित्वको अपेक्षा गरेका छन् । दिशानायकेको विजयले श्रीलंकाली राजनीतिमा एउटा नयाँ अध्यायको संकेत गरेको छ, जहाँ पुराना राजनीतिक धाराहरूलाई चुनौती दिँदै जनताको वास्तविक हितका लागि नेतृत्व प्रस्तुत गर्न प्रयास हुनेछ ।
प्रधानमन्त्रीद्वारा राजीनामा
श्रीलंकाको नयाँ राष्ट्रपतिमा दिशानायके निर्वाचित भएपछि प्रधानमन्त्री दिनेश गुणवर्धनाले सोमबार बिहान राजीनामा दिनुभएको छ । आफ्नो राजीनामा पत्रमा गुणवर्धनाले श्रीलंकाको नवौँ कार्यकारी राष्ट्रपतिको रूपमा दिशानायके निर्वाचित भएसँगै देशको संविधानअनुसार नयाँ मन्त्रिमण्डल गठनका लागि मार्गप्रशस्त गर्न राजीनामा दिन लागेको उल्लेख गर्नुभएको छ । दिशानायकेले चुनावमा विजय हासिल गरेपछि गुणवर्धनाले आइतबार राति नै उहाँलाई बधाई दिनुभएको थियो ।