कैलाली := आजदेखि सुदूरपश्चिमको मौलिक पर्व गौरा विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ । आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ ।
भाद्र कृष्ण सप्तमीका दिन गौराघर र मन्दिरमा परम्परागत रूपमा गौरा भित्र्याई अष्टमीका दिन आँगन, मन्दिर परिसर र चौरमा भेला भई गौरा पूजन गर्ने चलन छ। यसअघि आइतबार बेलुकी धान, सामा, कुशलगायतका बोटबिरुवाबाट बनाइएको गौरा भगवतीको प्रतिमा धार्मिक अनुष्ठानका साथ गौराघर तथा मन्दिरमा भित्र्याइएको थियो।
बेलुकीदेखि ब्रत बसेका विवाहित महिला गौरा पूजन गर्ने ठाउँमा गई घाँटीमा लगाएको धागो अर्थात् दुबधागो गौरालाई चढाउने र नयाँ धागो लगाउने गर्छन्। भाद्र शुक्ल पञ्चमीका दिन भिजाइएको मास, गहत, गहुँ, केराउ, गुराउँस गरी पाँच प्रकारका गेडागेडी अर्थात् पञ्चबिरुडाले गौरा महेश्वर अर्थात् शिव पार्वतीको पूजा गर्ने, तथा पूजा सकिसकेपछि आशीर्वादसहित सबैलाई बाँड्ने चलन छ।
प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गिीनी पार्वतीलाई गौरा देवीका रुपमा पूजाअर्चना गरिँदै आइएको छ । शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा पर्व हो । यो पर्व अगस्ती ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्ने गर्दछ । शुक्ल पक्षमा परेको गौरालाई ‘उज्याली गौरा’ भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई ‘अन्यारी गौरा’ भनिन्छ । यी दुवै गौरालाई अति पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्वका साथ हेर्ने गर्दछन ।
व्रतालुले बिरुडा बाँडेर ठूलाबडाको आशिर्वाद लिने, ब्रत बसेकालाई प्रसादका रूपमा बिरुडा दिने र खाने चलन रहेको छ। भोलिपल्ट गौरा सेलाएपछि गौरा पर्व समाप्त हुन्छ। गौरा पर्वसँगै देउडा खेल्ने पनि सुदूरपश्चिमवासीको चलन छ।




















