साउदीमा १९ हजार ९ सय ८९ आप्रवासी अवैधानिक श्रमिक पक्राउ, ९६ जना नेपाली स्वदेश फिर्ता।

साउदी अरेबिया := साउदी अरेबियामा त्यहाँका सरकार र प्रशासनले गैरकानुनी रुपमा बसिरहेका अवैधानिक विदेशी कामदार लाई धरपकड गरि पक्राउ गरेर जेल चलान गर्ने कार्यलाई व्यापक तीव्रता दिएको छ ।

गृह मन्त्रालयले ८ देखि १४ अगस्टसम्म साउदी अरेबियाभरि बसोबास, श्रम र सीमा सुरक्षा कानुनको पालना नगर्ने १९ हजार ९ सय ८९ आप्रवासी श्रमिक पक्राउ गरेको छ ।

सोही क्रममा गैरकानुनी रूपमा बसोबास गर्दै आएका ९६ जना नेपाली कामदारले स्वदेश फर्किन लाई ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन्। साउदीको रियाद र दमामबाट गरी ९६ जना नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली राजदूतावासले जनाएको छ ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

गैरकानुनी रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनुपरे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।

साउदीमा कार्यरत नेपालीहरूले आवासीय अनुमतिपत्र (इकामा) नबनाएका तथा नवीकरण नगरेकाहरूका लागि स्वदेश फर्किन बहिर्गमन भिसा आवश्यक पर्छ । त्यसका लागि आवश्यक कागजातसहित दूतावासमा सम्पर्क गर्नुपर्छ । एक्जिट भिसा लागेको ६० दिनभित्र साउदी छोड्नुपर्ने कानुनी व्यवस्था छ । एक्जिट भिसाको प्रोसेस निःशुल्क हुने दूतावासले जनाएको छ ।

यसका लागि एक पैसा पनि तिर्नुपर्दैन । साथै, यस्ता घटनालाई कम गर्न दूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली दाजुभाइलाई कम्पनीले आफूले पाउने सुविधाबाट वञ्चित गरेमा तुरुन्त श्रमिक अदालतमा उजुरी गरी कानुनी बाटो समाती आफ्नो अधिकार लिन अनुरोध गरेको छ ।