कन्सल्टेन्सीको नाममा गैरकानूनी तवरबाट नेपालीलाई विदेश पठाउनेहरुको अनुसन्धान गर्दैछौं: श्रममन्त्री भण्डारी।

काठमाडौं := श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कन्सल्टेन्सीको नाममा गैरकानूनी तवरबाट नेपालीलाई विदेश पठाउनेहरुको सरकारले अनुसन्धान गरिरहेको बताएका छन्।

शुक्रवार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री भण्डारीले शैक्षिक परामर्श केन्द्रको नाममा नेपालीहरुलाई विदेश पठाइएको भन्दै यसबारे सरकारले अनुसन्धान गरिरहेको बताएका हो।

उनले एउटै व्यक्तिले म्यानपावर कम्पनी र कन्सल्टेन्सी खोल्ने गरेको र म्यानपावरबाट नभई कन्सल्टेन्सीबाट विदेश पठाउने गरेको भन्दै यस्तो गलत काम गर्नेलाई कारबाही गरिने चेतावनी दिए।

‘दुई वर्षसम्म एउटा पनि मान्छे नपठाउने र ९९ जना पठाउने कम्पनी पनि छन्। के हो समस्या? २ वर्षदेखि कम्पनी दर्ता गरेर एकजना मान्छे पनि पठाएको छैन‚ कम्पनी चलिरहेको छ। यसले शंकाको परिस्थिति सिर्जना गरेको छ‚’ उनले भने‚ ‘एक वर्षदेखि युरोपदेखि जापान, कोरियालगायत मुलुकहरुबाट प्रमाणीकरण भएको छैन तर त्यो मुलुकमा ४० हजार मानिस कसरी पुगिराखेका छन्?’

यो सरकारकोमात्रै विषय नभएकाले व्यवसायीहरुलाई पनि आफूले ध्यानाकर्षण गराएको दावी उनले गरे। उनले म्यानपावर कम्पनी खोलेर २ वर्षसम्म एकजना मान्छे नपठाउने कम्पनीहरुले आशंका जन्माएको पनि उनले बताए‍।

​उनले मन्त्रिपरिषदको बिहीवारको बैठकले आव ०७९/८० र ०८०/८१ गरी लगातार २ वर्षसम्म वार्षिक १०० जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतप्राप्त संस्थाको इजाजतपत्र आव ०८१/८२ का लागि नवीकरण गर्न दिनेगरी बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने निर्णय गरेको बताए।

उनले नवीकरण भएका म्यानपावर कम्पनीहरु नियमित, अनियमित कुन अवस्थामा छन् सो को मन्त्रालयले अध्ययन गर्ने बताए।

‘शैक्षिक परामर्श (कन्सल्टेन्सी)को नाममा मानिसहरुलाई बाहिर पठाइरहेका छौँ। उही मान्छेले म्यानपावर कम्पनी खोलेका छन्‚ उही कन्सल्टेन्सीमा छन्। त्यस्तो विकृति छ‚’ उनले भने‚ ‘मैले व्यवसायीहरुलाई ध्यानाकर्षण गरेँ। हिजोको मन्त्रिपरिषद्को निर्णयले सयजना नपुगेकालाई पनि बाधा अड्काउ फुकाएर दर्ता गर्ने बाटो खोलिदिउँ। हामी हेर्छौं, कम्पनीहरु नियमित छन् कि अनियमित, वैधानिक छन् कि के काम गरेका छन् भन्ने हेर्नैपर्ने हुन्छ।’