सात पटकको विजेता भारतलाई हराउँदै श्रीलंकाले जित्यो एसिसी महिला एसिया कप।

एजेन्सी := सात पटकको विजेता भारतलाई हराउँदै श्रीलंकाले एसिसी महिला एसिया कप जितेको छ। आइतबार सम्पन्न फाइनलमा भारतलाई आठ विकेटले हराउँदै श्रीलंकाले पहिलोपल्ट उपाधि जितेको हो।

दम्बुलामा आयोजित फाइनल खेलमा श्रीलंका ८ विकेटले विजयी बनेको हो । भारतले दिएको १६६ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ८ बल बाँकी हुँदै दुई विकेट गुमाएर १६७ रन बनायो। श्रीलंकाकी हर्षिता समरविक्रमले अविजित रहँदै ६९ रन बनाइन्। ५१ बल खेलेकी उनले ६ चौका र दुई छक्का प्रहार गरिन्।

ओपनर तथा कप्तान चमारीले ४३ बलमा नौ चौका र दुई छक्का प्रहार गरिन्। विष्मी गुणरत्ने एक रनमा आउट हुँदा कविशा दिल्हारी ३० रनमा अविजित रहिन्। भारतका लागि स्मृति मन्धानाले सर्वाधिक ६० रनको योगदान दिइन् । उनले ४७ बलमा १० चौका प्रहार गरिन्।  रिचा घोषले १४ बलमा ३० रन जोडिन् । उनले ४ चौका र १ छक्का हानिन् ।

जेमिमा रोड्रिग्वेजले १६ बलमा २९ रन बनाइन् । उनले ३ चौका र १ छक्का प्रहार गरिन् । सेफाली वर्माले १६ तथा कप्तान हरमनप्रित कौरले ११ रनको योगदान दिइन् ।यसअघि भारतले सुरुका ६ संस्करणको उपाधि जितेको थियो। तीमध्ये चार संस्करणको फाइनलमा श्रीलंकालाई भारतले पराजित गरेको थियो। दुईपल्ट भने भारतले पाकिस्तानलाई पराजित गर्दै उपाधि जितेको थियो।

तर, सन् २०१८ मा भारत फाइनलमा बंगलादेशसँग तीन विकेटले पराजित भयो। पछिल्लो संस्करण भारतले फाइनलमा श्रीलंकालाई आठ विकेटले पराजित गर्दै सातौंपल्ट उपाधि जितेको थियो। यसपल्ट भने श्रीलंका त्यो फराकिलो हारको बदला लिन सफल भयो।