फ्रान्स:= पेरिस ओलम्पिक- २०२४ मा नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहाल समूहको पहिलो खेलमा पराजित हुनुभएको छ। शनिबार राति सम्पन्न पहिलो खेलमा प्रिन्स डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सन सँग लगातार दुई सेटमा पराजित हुनुभएको हो। भिक्टरले पहिलो सेट २१–८ र दोस्रो सेट २१–६ ले जित्नुभएको थियो ।
समूह ‘पी’ मा रहेका प्रिन्सको यो हारसँगै अन्तिम १६ मा पुग्ने सम्भावना कमजोर भएको छ ।उहाँले दोस्रो खेल आयरल्यान्डका नियात न्युयेनसँग २९ जुलाईमा खेल्नु हुने छ । यस्तै, समूहचरणको अन्तिम खेल इजरायलका मिसा जिल्बरम्यानसँग ३० जुलाईमा खेल्नुहुने छ । १६ वटा समूहका शीर्ष खेलाडीले अन्तिम १६ मा प्रवेश पाउनुहुने छ ।
यसअघि शनिबार साँझ भएको टेबल टेनिसमा नेपाली स्टार स्यान्टु श्रेष्ठ सोझो सेटमै पराजित हुनुभएको थियो । उहाँ सेनेगलका इब्राहिम डिएवसँग पराजित हुनुभएको हो। उहाँ १०–१२, ३–११, ४–११ र ५–११ ले पराजित हुनुभयो ।




















