आजदेखि ३३औं ग्रीष्मकालीन ओलम्पिक सुरु, गायिका तथा अभिनेत्री लेडी गागाले सांगीतिक प्रस्तुति दिने

एजेन्सी := फ्रान्सको पेरिसमा आजदेखि ३३औं ग्रीष्मकालीन ओलम्पिक प्रतियोगिता सुरु हुँदैछ । आज (शुक्रबार)देखि सुरु भएको प्रतियोगिता देखि २७ गतेसम्म चल्नेछ । प्रतियोगिताको उद्घाटन समारोहमा चर्चित अमेरिकी गायिका तथा अभिनेत्री लेडी गागाले सांगीतिक प्रस्तुति दिने हुनुभएको छ ।

गतसाता नै पेरिसमा पुग्नुभएकी गागाले समारोहमा प्रस्तुति दिने बताइएको छ । हलिउड रिपोर्टर म्यागजिनले गागाको प्रस्तुतिलाई लिएर बिहीबार समाचार लेखेको छ। ‘स्वालो’ गायिकाले अन्य चर्चित गायिका सेलिन डियोन, दुआ लिपा, एरियाना ग्राण्डे, फ्रान्सेली गायक अया नाकामुरा लगायतसँग पेरिसको सेइन नदीमा आयोजना हुने समारोहमा प्रस्तुति दिने जनाइएको छ । धेरै कलाकारको प्रस्तुतिको लाइनअपलाई अहिले गोप्य राखिएको छ ।

ग्रामी तथा ओस्कार पुरस्कार विजेता कलाकार गागा पछिल्लो समय प्रतीक्षित हलिउड फिल्म ‘जोकर : फोली ए ड्युक्स’को छायांकनमा व्यस्त हुनुहुन्छ । पेरिस ओलम्पिकको उद्घाटन समारोह नेपाली समयानुसार आज (शुक्रबार) राति सवा ११ बजेदेखि सुरु हुँदैछ । प्रतियोगितामा नेपालबाट सात खेलाडीको सहभागिता छन्, जसमा टेबल टेनिसकी स्यान्टु श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ हुनुहुन्छ ।

प्रतियोगिताको मार्चपासमा नेपालको झण्डा स्यान्टु र मनिताले संयुक्त रूपमा बोक्ने हुनुभएको छ । प्रतियोगिताको उद्घाटनमा स्यान्टु र मनिताले नेपालको झण्डा बोक्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ । स्यान्टु क्षेत्रीय तथा मनिता महादेशीय छनोटबाट ओलम्पिकमा सहभागी हुन भएको होे । ओलम्पिकमा सुटिङमा प्रदीप खाती, टेबलटेनिसमा राजेन्द्र कपाली, जुडोमा देवु थापा, एथलेटिक्समा कान्तिकुमारी महतो यादव र पौडीमा नयना शाक्यले प्रशिक्षकको भूमिका निर्वाह गर्नुहुनेछ ।

ब्याडमिन्टनका प्रिन्सले भने प्रशिक्षकबिना खेल्नुपर्ने भएको छ । टिम डाक्टरमा नविसमान सिंह प्रधान हुनुहुन्छ । सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिकको ३३औं संस्करण धुमधामका साथ आयोजना गर्न फ्रान्सको राजधानी पेरिसमा पूर्णरूपमा तयारी गरिएको छ ।