काठमाडौं := वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने कामदारलाई दुःख नदिन म्यानपावर कम्पनीहरूलाई सचेत गराएको छ । म्यानपावर व्यवसायीहरूले कुनै पनि व्यक्ति वैदेशिक रोजगारीमा जान छनोट नहुँदै राहदानी लिने, वैदेशिक रोजगारीमा नपठाउने र राहदानी लिन जाँदा सेवा शुल्क माग्ने जस्ता कार्य गरेको भन्दै विभागले दुःख नदिन चेतावनीसमेत दिएको छ । त्यस्ता गुनासा विभागमा समेत आउने गरेको जनाउँदै वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
विभागका प्रवक्ता तथा सूचना अधिकारी गुरुदत्त सुवेदीद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार म्यानपावर व्यवसायीले वैदेशिक रोजगार नियमावली, २०६४ को नियम १४ बमोजिम वैदेशिक रोजगारीका लागि विज्ञापनमा उल्लेख गरिएअनुसारको मिति र समयमा अन्तर्वार्ता नगराउने र सार्ने तथा अन्तर्वार्ताको मितिमा आवेदक जाँदा कार्यालय बन्द हुने गरेको गुनासा विभागमा आउने गरेका छन् । त्यस्तो कार्य नगरेर विज्ञापनबमोजिम अन्तर्वार्ता गराउनसमेत विभागले सचेत गराएको छ ।
त्यसैगरी अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरूले समेत तोकिएको मापदण्डबमोजिम तालिम प्रदान नगरेको गुनासो आउने गरेको भन्दै विभागबाट अनुगमन गर्दा त्यस प्रकारको अवस्था भेटिएकाले ‘अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६’ बमोजिम अनिवार्य तोकिएको मापदण्डबमोजिम तालिम प्रदान गरेर मात्र प्रमाणपत्र उपलब्ध गराउन विभागले निर्देशन दिएको छ ।




















