एजेन्सी (बोइनोस एयर):= चोटका कारण कोपा अमेरिकाको फाइनलबाट बाहिरिनुभएका लियोनल मेसीले आगामी विश्वकप खेल्नेमा अनिश्चितता उत्पन्न भएको छ ।
मेसी फिटनेस परीक्षणमा अनुत्तीर्ण भएपछि सन् २०२६ को विश्वकपमा सहभागिता पनि अनिश्चित बनेको हो । मेसीले कोलम्बियाविरुद्धको फाइनल खेलको ६४औँ मिनेटमा खुट्टाको चोटका कारण मैदानबाट बाहिरिनुपरेको थियो ।
अर्जेन्टिनाले लगातार दोस्रोपटक कोपा अमेरिकाको उपाधि जितेको थियो । ३७ वर्षीय मेसीले चोटका कारण गत वर्ष इन्टर मियामी र अर्जेन्टिनाका धेरै खेल गुमाउनुभएको थियो । उहाँले कोपा अमेरिकामा पनि समूह चरणका केही खेल गुमाउनुभएको थियो ।
उहाँले क्वाटरफाइनलमा इक्वेडरविरुद्ध पेनाल्टी मिस गर्नुभएको थियो । उहाँले सेमिफाइनलमा क्यानडाविरुद्ध एकमात्र गोल गर्नुभएको थियो । अब अर्जेन्टिनाले सेप्टेम्बरमा चिली र कोलम्बियासँग विश्वकप छनोटका खेल खेल्नुपर्नेछ । एजेन्सी ।




















