एजेन्सी := श्रीलंकामा जारी नवौं संस्करणको महिला एसिया कपमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ। आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ। यो खेल नेपाली समय अनुसार साँझ सवा ७ मा सुरु हुनेछ। नेपालको पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीसँग टी-२० आई मान्यता प्राप्त खेल भने पहिलो पटक खेल्न लागेको हो।
सन् २०१६ को एसिया कपमा नेपाल र पाकिस्तानबीच खेल भएको थियो। तर, सो समयमा नेपाली टोलीले आईसीसीबाट टी-२० आई मान्यता प्राप्त नगरेको भएर खेल टी-२० मान्यताको मात्र भएको थियो। २०१८ पछि आईसीसीले हरेक सदस्य राष्ट्रबीचको टी-२० खेलले अन्तर्राष्ट्रिय मान्यता पाउने नियम बनाएपछि नेपालका हरेक खेल अन्तराष्ट्रिय मान्यताका हुदै आएका छन्।
२०२४ को नवौं संस्करणको एसिया कपको पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको छ। पाकिस्तान भने भारतसँग सात विकेटले पराजित भएको थियो। यो खेल नेपाली महिला क्रिकेट टिमको पहिलो रात्रिकालिन क्रिकेट पनि हुनेछ।
नेपालले आजको खेल जिते सेमिफाइनल सम्भावनालाई बलियो बनाउने छ। त्यस्तै आजै हुने समूह ‘ए’ को अर्को खेलमा यूएईले भारतको सामना गर्दैछ। भारत लगातार जित निकाल्दै अघिल्लो चरणको ढोका खोल्न चाहन्छ भने यूएई पहिलो जितको खोजीमा हुनेछ। यो खेल आइतबार दिउँसो २:१५ बजे सुरु हुनेछ।
प्रतियोगितामा आठ टोली सहभागी छन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ। समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्। अहिलेसम्म समूह चरणका एकएक खेल सम्पन्न भइसकेका छन्।
समूह ‘ए’मा समान दुई अंकसहित भारत र नेपाल पहिलो र दोस्रो स्थानमा छन् भने पाकिस्तान र यूएईले खाता खोल्न सकेका छैनन्। समूह ‘बी’मा श्रीलंका र थाइल्याण्ड दुई अंकसहित पहिलो र दोस्रो स्थानमा छन् भने बंगलादेश र मलेसियाले खाता खोल्न सकेका छैनन्।समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुईदुई देश सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते हुनेछ।




















