बंगलादेशमा रोजगारीमा आरक्षणको विरोधमा प्रदर्शनमा ६ जनाको मृत्यु, नेपाली विद्यार्थी पनि खतरामा।

ढाका:= बंगलादेशमा रोजगारीमा आरक्षणको विरोधमा भएको प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ । यो घटनापछि देशभरका विद्यालय र विश्वविद्यालय अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको छ ।  बंगलादेशमा देशको स्वतन्त्रताका लागि लडेका नागरिकका छोराछोरीलाई सरकारी जागिरमा आरक्षण दिइएको छ । सन् १९७१ मा बंगलादेश स्वतन्त्रता संग्रामपछि पाकिस्तानबाट अलग भएको थियो ।

आलोचकहरू भन्छन् कि यो आरक्षण प्रणालीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने सरकार समर्थक समूहका बच्चाहरूलाई अनुचित रूपमा फाइदा पु¥याउनेछ । बंगलादेशमा विगत केही दिनदेखि सरकारी जागिरमा आरक्षणको व्यवस्थाको विरोधमा प्रदर्शन भइरहेको छ । केही सातासम्म चलेको विरोधपछि सन् २०१८ देखि यो भर्ना प्रणालीमा प्रतिबन्ध लगाइएको थियो । गत महिनामात्र एक अदालतले यो आरक्षण प्रणाली पुर्नस्थापित गरेको थियो ।

नेपाली विद्यार्थीलाई अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन अनुरोध

ढाकास्थित नेपाली राजदूतावासले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरूलाई सुरक्षित रहन, अत्यावश्यक काममा बाहेक छात्रावास वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ-आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेको छ ।

बंगलादेशमा जारी ‘कोटा’विरोधी प्रदर्शनहरूमा भएका झडपका कारण बंगलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने भनी गरेको निर्णयको सन्दर्भमा उक्त दूतावासले त्यस्तो अनुरोध गरेको हो ।

कुनै कारणवश कलेज प्रशासनले छात्रावासबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा वा आफू बसेको स्थानमा सुरक्षा अवस्था प्रतिकूल भएमा दूतावासका द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्रीलाई क्रमशः + ८८०१८०६९१०१३/+८८०१७४५४०७९५८मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

दूतावासले बुधबार सूचना जारी गर्दै बंगलादेशमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको र सम्पूर्ण नेपाली विद्यार्थीको शान्ति, सुरक्षा सनिश्चित गर्न बंगलादेश सरकारका निकाय एवं सम्बन्धित कलेज प्रशासनसँग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको बताएको छ ।