काठमाडौं := लगातार परेको वर्षा सँगै आएको बाढी पहिरोमा परी पछिल्लो एक महिनामै देशभर ८३ जनाको ज्यान गएको छ । गत जेठ २८ गतेदेखि हालसम्म बाढी पहिरोमा परेर देशभरका विभिन्न ठाउँमा ८३ जनाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार देशका विभिन्न स्थानमा आएको बाढी पहिरामा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको हो । बाढी पहिरामा परेर १०६ जना घाइते भएको उहाँले बताउनुभयो । घाइते हुनेमा ५१ पुरुष, ३६ महिला र १९ बालबालिका छन् ।
हालसम्म दुई पुरुष र तीन महिलासहित पाँचजना बेपत्ता भएको उहाँको भनाइ छ । यो तथ्यांक बुधबार सम्मको मात्रै हो । बाढी पहिरोका कारण ३८४ पशु चौपायाको क्षति भएको छ । यस्तै, १३९ घर र ५४ गोठमा क्षति पुगेको प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो । वर्षा र पहिरोका कारण ८५८ परिवार विस्थापित भएका छन् । बाढी पहिरोमा परेकाको उद्धारका लागि हालसम्म पाँच हजार ४२८ प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
मुलुकको विभिन्न भागमा परेको अविरल वर्षाका कारण एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ । ४१ पुल बगाएको उहाँले बताउनुभयो । यस्तै, १६१ घर डुबानमा परेका र ११६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । देशभर दुई हजार ९५४ परिवार विस्थापित भएका छन् । उक्त घटनामा १० करोड ७० लाख ४० हजार बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।
देशभरका दुई दर्जन सडक अवरुद्ध
लगातारको वर्षा र बाढी पहिरोले देशभरका करिब दुई दर्जन सडक अवरुद्ध भएका छन् । वर्षाका कारण आएको बाढी तथा पहिरोले देशभरका २३ वटा राजमार्ग पूर्ण अवरुद्ध भएका हुन् । देशभरका १४७ राजमार्गमध्ये ७३ वटा एकतर्फी र ५१ वटा सडक दुवैतर्फ सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ ।
वर्षाका कारण कर्णाली राजमार्गको कालीकोटको पिली, हुम्ला-डोल्पा सडक खण्डको जाजरकोटको रिम्ना, नलगाड र राप्ती राजमार्गको सल्यान क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध छ । यस्तै, उत्तर-दक्षिण सडक अन्तर्गतको संखुवासभाको खाँदबारी सडकखण्ड बाढीका कारण अवरुद्ध भएको छ । यस सडक खण्डमा बाढीले ठाउँठाउँमा क्षति पुर्याएको छ ।
यस्तै, डुम्रे-बेंशिसहर-चामे सडक खण्डको चिमांग, खरखरे भीर र उदीपुर दलाल खण्ड पहिरोका कारण अवरुद्ध बनेको छ । उत्तर-दक्षिण कालीगण्डकी लोकमार्गअन्तर्गत गुल्मीको बरल्वा, गुल्मीकै कनौटा र स्याङ्जाको रातोडाँडामा सडक अवरुद्ध छ । यस्तै, कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकखण्ड म्याग्दी र स्याङ्जामा पहिरोका कारण अवरुद्ध बनेको छ ।
भालुवाङ-लिवाङ-माडीचौर-दारबोट सडकखण्ड प्युठानको सिमलचौर, अधेरी खोला, खार्से खोला र गर्नेनी सडक अवरुद्ध बनेको छ । वर्तुङ-तानेसेन-रिडी-वामीटक्सार-खर्वाङ सडक खण्ड पाल्पाको अर्गेलीमा अवरुद्ध छ । यस्तै, बिपी राजमार्गअन्र्तगत बर्दिवास-सिन्धुली-खुर्कोट-धुलिखेल सडक खण्ड काभ्रेपलाञ्चोक को चार सयमा अवरुद्ध बनेको छ ।
साँफेबगर-मार्तडी-कोल्टी सडक खण्ड अछामको तासी बजार, बुढाबगरमा अवरुद्ध छ । सिद्धार्थ राजमार्गको बेलहिया-भैरवा-बुटवल-वर्तुङ, राम्दी-स्याङ्जा-पोखरा खण्ड स्याङ्जाको गैराथोकमा अवरुद्ध छ । कान्ति राजमार्ग सडक योजनाअन्तर्गत हेटौँडा-बागमती-टीकाभैरव-भैँसेपाटी-एकान्तकुना सडक ललितपुरको खरिवासमा अवरुद्ध छ । भालुवाङ-लिवाङ-माडीचौर-दारबोट सडक प्युठानमा अवरुद्ध छ । बेलहिया-भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङ्जा-पोखरा खण्ड स्याङ्जाको छानगढीमा पहिरोले अवरुद्ध बनेको छ ।
प्रभावित क्षेत्रमा खट्न भ्रातृ संस्थालाई नेपाली कांग्रेस पार्टीको निर्देशन
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी पहिरोलगायत प्राकृतिक विपद् प्रभावित क्षेत्रमा मानवीय सेवामा खटिन भ्रातृ शुभेच्छुक एवं पार्टीको विभिन्न तहका संरचनालाई निर्देशन दिएको छ । बुधबार विज्ञप्ति जारी गर्दै कांग्रेसले बाढी पहिरोलगायत प्राकृतिक विपद् प्रभावित क्षेत्रमा मानवीय सेवामा खटिन भ्रातृ शुभेच्छुक एवं पार्टीको विभिन्न तहका संरचनालाई निर्देशन दिएको हो ।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा कांग्रेसले उद्धार र राहतको कार्यमा सहयोग पु¥याउन निर्देशन दिएको छ । साथै, पहिरो एवं डुबानमा पर्नसक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा नागरिकको स्थानान्तरण गराउने कार्यमा जुट्न पनि अपिल गरेको छ ।
कांग्रेसले नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ । ‘यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनवटै तहका सरकारले आवश्यक समन्वय र व्यवस्थित योजना साथ सम्पूर्ण रूपले ध्यान केन्द्रित गर्न नेपाली कांग्रेस आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । यस्तै, सम्पर्क विहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरूलाई सम्पूर्ण उपचारको व्यवस्था गर्न पनि सरकारसँग कांग्रेसको माग छ ।




















