इङल्याण्ड र नेदरल्याण्डस युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश।

एजेन्सी := इङल्याण्ड युरोकपको सेमिफाइनलमा पुगेको छ । जारी युरोकपको क्वाटरफाइनलमा स्वीजरल्याण्डलाई पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटमा दुवै देशले १-१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । ३० मिनेटको अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा स्वीजरल्याण्डका खेलाडी अकान्जीले पेनाल्टी मिस गरेका थिए ।

यस अघि निधारित ९० मिनेटको खेलमा खेलको ७५औं मिनेटमा स्वीजरल्याण्डका ब्रील एम्बोलोले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ८०औं मिनेटमा इङल्याण्डका लागि बुकायो साकाले बराबरी गोल गरेका थिए ।

यो जितपछि अब इङल्याण्डले सेमिफाइनलमा नेदरल्याण्डससँग खेल्ने छ । त्यस्तै अर्को सेमिफाइनलमा स्पेन र फ्रान्स खेल्दै छन् । यो हारसँगै स्वीजरल्याण्ड भने युरोकपबाट बाहिरिएको छ ।

त्यस्तै गएराती नै  सम्पन्न जारी युरोकप फुटबलको क्वाटरफाइनल खेलमा टर्कीलाई २-१ गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

नेदरल्याण्डसको जितमा स्टेफेन डी भिर्जले एक गोल गरेका थिए भने एक गोल टर्कीका मेर्ट मुल्दुरले आत्मघाती गोल गरेका थिए । त्यस्तै टर्कीका लागि एक गोल सामेल अकायदिनले गरेका थिए । १-० गोलले अगाडी रहेको टर्कीले अग्रता जोगाउन नसक्दा हार बेहोरेको थियो ।

यस खेलमा ९० मिनेट पछिको इन्जुरी समयमा टर्कीका बेर्टङ ओज्गर यिल्डिरिमले रातो कार्ड पाएका थिए । यो जितपछि नेदरल्याण्डसले अब सेमिफाइनलमा इङल्याण्डको सामना गर्ने भएको छ । त्यस्तै अर्को सेमिफाइनलआमा स्पेन र फ्रान्स खेल्ने भएका छन् । त्यस्तै यो हारसँगै टर्कीको युरोकप यात्रा समाप्त भएको छ ।