
एजेन्सी (नयाँदिल्ली):= करिब १७ वर्षपछि टि-२० विश्वकप क्रिकेटको उपाधि जितेर टोली फर्किँदा बिहीबार भारतभर जितको जश्न मनाइयो । सन् २००७ पछि पहिलोपटक भारतीय टोली विश्वकपको ट्रपी लिएर फर्किएको थियो । १७ वर्षदेखि ट्रफी पर्खिएका भारतीय फ्यानहरू खेलाडीलाई स्वागत गर्न दिल्लीदेखि मुम्बईसम्म सडकमा उत्रिएका थिए । जितको उत्सव १६ घण्टासम्म चलेको थियो ।
बिहीबार बिहान ६ः१० बजे कप्तान रोहित शर्माको ब्रिगेड बार्बाडोसबाट दिल्ली एयरपोर्टमा अवतरण गरेको थियो । उनीहरूको स्वागतका लागि त्यहाँ फ्यानहरू जम्मा भएका थिए । त्यसपछि टोलीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेको थियो । त्यसपछि टोली मुम्बई पुग्यो ।
मरिन ड्राइभलाई स्वागत गर्न फ्यानहरू वर्षाको बीचमा ६ घण्टा सडकमा उभिएका थिए । उत्सव राति १० बजेसम्म चलेको थियो । १६ घण्टाको उत्सवमा धेरै प्रशंसकहरूको अवस्था बिग्रियो । केही घाइते पनि भए । मुम्बई प्रहरीले १० जना फ्यानलाई उपचारका लागि अस्पताल लगिएको र जसमध्ये दुई जनालाई भर्ना गरिएको बताएको छ ।

Photo by Vipin Pawar / Sportzpics for IPL
भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले मुम्बईको वानखेडे स्टेडियममा विश्व च्याम्पियन टिमका खेलाडीलाई सम्मान गरेको थियो । बोर्डका अध्यक्ष रोजन बिन्नी र सचिव जय साहले टोलीलाई १२५ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । यस क्रममा वानखेडेमा भारतीय खेलाडीहरू ड्रम बजाएर नाचेका थिए ।

Photo by Vipin Pawar / Sportzpics for IPL

Photo by Vipin Pawar / Sportzpics for IPL
तीन किलोमिटर लामो मरिन ड्राइभमा तीन लाखभन्दा बढी मानिसको उपस्थिति रहेको थियो । रोहितले सबैलाई धन्यवाद दिनुभयो । ‘सबैलाई धन्यवाद । यो ट्रफी सिंगो देशको लागि हो,’ उहाँले भन्नुभयो । यस्तै, जसप्रित बुमराहले जितपछि आफू रोएको बताउनुभयो ।
‘म कुनै पनि क्रिकेट खेलपछि रोइनँ, तर त्यो जितपछि दुई-तीनपटक मेरो आँखाबाट आँसु आएको महसुस भयो,’ उहाँले भन्नुभयो । विराट कोहलीले पनि जितपछि आफू रोएको बताउनुभयो । ‘जब रोहित सिँढीमा थिए, मेरो र उनको आँखामा आँसु थियो । उनलाई यति भावुक भएको मैले पहिलोपटक देखेको थिएँ,’ उहाँले भन्नुभयो । एजेन्सी