सन् २०२६ को टी-२० विश्वकपमा सहभागी हुने १२ राष्ट्रको टुंगो लाग्यो।

एजेन्सी := टी-२० विश्वकपको १०औँ संस्करण सन् २०२६ मा भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्नेछन् । त्यो विश्वकपमा पनि २० वटै टोलीको सहभागिता रहनेछ । सन् २०२६ को फेब्रुअरी-मार्चमा आयोजना हुने टी-२० विश्वकपका लागि १२ वटा राष्ट्रको भने अहिले नै टुंगो लागिसकेको छ ।

दुई वर्षपछि खेलिने टी-२० विश्वकपमा अमेरिका, आयरल्याण्ड र अफगानिस्तानको पनि सहभागिता पक्का भइसकेको छ । नवौँ संस्करणको ‘सुपर-८’ चरणमा पुगेका राष्ट्रहरूले स्वतः सन् २०२६ को टी-२० विश्वकप खेल्न पाउने प्रावधान छ ।

यस आधारमा अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, अमेरिका र वेष्ट इण्डिजले स्वतः सन् २०२६ को टी-२० विश्वकप खेल्न पाउनेछन् । नवौँ विश्वकपको उपाधि विजेता भारतले भने आयोजक राष्ट्रका रूपमा सन् २०२६ को विश्वकप खेल्नेछ ।

नवौँ विश्वकपको समूहगत चरणबाटै बाहिरिएको श्रीलंकाले पनि आयोजक राष्ट्रका रूपमा १०औँ टी-२० विश्वकप खेल्ने अवसर पाएको छ । यसका अतिरिक्त आयरल्याण्ड, न्युजिल्याण्ड र पाकिस्तानले पनि स्वतः सन् २०२६ को टी-२० विश्वकप खेल्न पाउनेछन् ।

यी तीनवटै राष्ट्र नवौँ विश्वकपको समूहगत चरणबाटै बाहिरिएका थिए । नवौँ विश्वकपको फाइनल खेल सन् २०२४ को जुन २९ तारिखमा खेलिएको थियो । त्यसैले जुन ३० तारिखसम्मको आइसिसी टी-२० अन्तर्राष्ट्रिय वरीयताका आधारमा आयरल्याण्ड, न्युजिल्याण्ड र पाकिस्तानले सिधै सन् २०२६ को विश्वकपमा प्रवेश पाएका हुन् । उक्त वरीयतामा न्युजिल्याण्ड छैटौँ, पाकिस्तान सातौँ र आयरल्याण्ड ११औँ स्थानमा थिए ।

सन् २०२६ मा हुने टी-२० विश्वकपका लागि बाँकी आठ टोलीको टुंगो भने छनोट चरणको खेलबाट लाग्नेछ । युरोपेली क्षेत्रको छनोट प्रतियोगिताबाट दुई, पूर्वी एसियाली क्षेत्रको छनोट प्रतियोगिताबाट एक, अमेरिकी क्षेत्रको छनोट प्रतियोगिताबाट एक, एसियाली क्षेत्रको छनोट प्रतियोगिताबाट दुई र अफ्रिकी क्षेत्रको छनोट प्रतियोगिताबाट दुई राष्ट्र सन् २०२६ को टी-२० विश्वकपमा पुग्नेछन् ।

हालसम्म ६ वटा राष्ट्रले टी-२० विश्वकपको उपाधि जितेका छन् । वेष्ट इण्डिज, इंग्ल्याण्ड र भारतले दुई-दुईपटक टी-२० विश्वकपको उपाधि जितेका छन् । पाकिस्तान, श्रीलंका र अष्ट्रेलियाले एक-एक पटक उपाधि उचालेका छन् ।