काठमाडौं := प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् । मंगलबार बिहान सम्पन्न माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर विश्वासको मतको सामना गर्ने निर्णय गरेको माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिएका छन् ।
बैठकपछि जानकारी दिदै नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन चार दिनदेखिको छलफलमा अहिलेको गठबन्धनलाई नै गाडी बढाउने बताइरहेको र बाहिर कांग्रेससँग सहमति गरेको आरोप लगाएका छन् ।माओवादी केन्द्रले संसदको सामना गर्ने निर्णय गरेको बताउदै रास्वपासहितका अन्य दलहरुसँग छलफल गर्ने बताए ।
राजीनामा नदिने पार्टीको निर्णय राष्ट्रपतिलाई सुनाएर फर्किए प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीचको भेटवार्ता भएको छ। नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाउने सहमति भएपछि पार्टीबाट राजीनामा नदिने निर्णय गराएर प्रधानमन्त्री दाहाल राष्ट्रपति भेट्न शितलनिवास पुगेका थिए।
सो भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री दाहालले पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएको राट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
सोमबार एमाले र कांग्रेस मिलेर नयाँ सरकार बनाउने निर्णय गरेका थिए। दुई दलको निर्णयपछि प्रचण्डले तत्काल राजीनामा नदिने र सदन फेस गर्ने निर्णय गरेका थिए। सो निर्णय राष्ट्रपतिलाई जानकारी गराउन प्रधानमन्त्री दाहाल शीतल निवास पुगेका थिए।
मंगलबार विहान एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग भेट गरी मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए। तर प्रधानमन्त्री दाहालले संसद फेस गर्ने निर्णय पार्टीबाट गराएका छन्। प्रधानमन्त्री दाहालले संसद फेस गरे संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न नमिल्ने तर्क केही कानुनविदले गरेका छन्।
प्रधानमन्त्री दाहालले राजीनामा दिए संविधानको धारा २ अनुसार राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्न मिल्ने प्रवधान छ। तर प्रधानमन्त्री दाहालले संसदमा फेस गर्ने हो भने संविधानको धारा ७६ (३) अनुसार संसदमा सबै भन्दा ठूलो दलको नेतृत्वमा सरकार गठनका लागि आह्वान गर्नुपर्ने हुन्छ। यो प्राविधिक समस्या बुझेका प्रधानमन्त्री दाहालले राजीनामा नदिइ संसद फेस गर्ने निर्णय गरेका हुन्।




















