आईसीसी टी-२० विश्वकपको उपाधि भारतले जित्यो, कोहलीद्वारा संन्यासको घोषणा।

एजेन्सी := आईसीसी टी-२० विश्वकपको उपाधि भारतले जितेको छ। शनिबार बारबाडोसमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै उपाधि जितेको हो। भारतले १७ वर्षपछि टी-२० विश्वकपको उपाधि जितेको हो। यसअघि भारतले सन् २००७ मा भएको पहिलो टी-२० विश्वकपको उपाधि जितेको थियो।

शनिबारको खेलमा भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनायो। दक्षिण अफ्रिकाका लागि हेनरी क्लासेनले आक्रामक ब्याटिंग गर्दै ५२ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन्। २७ बल खेलेका उनले ५ छक्का र २ चौका प्रहार गरे। यस्तै क्वीन्टन डिककले ३९, ट्रिस्टन स्टब्सले ३१ तथा डेभिड मिलरले २१ रन बनाए।

भारतका हार्दिक पाण्ड्याले ३ विकेट लिए भने जसप्रित बुमराह र अर्शदिप सिंहले २/२ विकेट लिए। यसअघि टस जितेर ब्याटिंग रोजेको भारतले २० ओभरमा ७ विकेठ गुमाएर १७६ रन बनाएको थियो। भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए। यस्तै अक्षर पटेलले ४७ तथा शिवम दुबेले २७ रन बनाए।दक्षिण अफ्रिकाका केशव महाराज र एनरिक नोर्कियाँले २/२ विकेट लिए।

विराट कोहलीद्वारा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा : 

त्यस्तै टी–२० विश्वकपको उपाधि जितेसँगै भारतीय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट संन्यासको घोषणा गरेका छन् । फाइनल खेलमा कोहलीले भारतको जितमा नायकको भूमिका खेलेका थिए । उनी प्लेयर अफ द म्याच घोषित भए ।

यसअघि विश्वकपका ७ खेलमा उनको कुल स्कोर ७५ रन थियो । फाइनलमा उनी एक्लैले ७६ रनको इनिङ्स खेलेका थिए । फर्ममा फर्किएका कोहलीले आजको खेलमा भने ५९ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे ।  फाइनल खेलमा भारतको सुरुवात भने राम्रो हुन सकेको थिएन ।

कप्तान रोहित शर्मा मात्र ९ रन बनाएर पभेलियन फर्किए भने लगतै ऋषभ पन्त शून्य रन बनाएर आउट भए । सूर्यकुमार यादव पनि ३ रन जोडेर कागिसो राबाडाको शिकार बनेपछि भारत दबाबमा देखिएको थियो । तर, कोहली र अक्षर पटेल मिलेर ५४ बलमा ७२ रनको साझेदारी गरेपछि भारत खेलमा फर्किएको थियो ।

‘यो मेरो अन्तिम टी-२० विश्वकप थियो र हामीले हासिल गर्न चाहेको यही थियो,‘ कोहलीले प्लेयर अफ द म्याचको अवार्ड जितेपछि भने, ’अब नयाँ पुस्ताले जिम्मा लिनेछ ।’

‘एक दिन तपाईंलाई लाग्छ कि तपाई रन बनाउन सक्नुहुन्न, त्यसपछि चीजहरू हुन्छन्। भगवान महान हुनुहुन्छ, र मैले टोलीलाई आवश्यक भएको बेला काम पूरा गरे,’ उनले थपे, ‘अहिले वा कहिले पनि नाई । भारतको लागि अन्तिम टी-२०, यसको अधिकतम बनाउन चाहन्थेँ। कप उठाउन चाहन्थे, जबरजस्ती गर्नु भन्दा अवस्थालाई सम्मान गर्न चाहन्थे। यो एउटा ओपन सिक्रेट थियो । यो अर्को पुस्ताले सम्हाल्ने समय हो, केही उत्कृष्ट खेलाडीहरूले टोलीलाई अगाडि बढाउनेछन् र झण्डा उचो फहराइरहनेछन्।’

कोहलीले आफ्नो १२५ म्याचको टी-२० अन्तर्राष्ट्रिय करियरलाई भारतको दोस्रो उच्च रन स्कोररको रूपमा समाप्त गरे । उनले ४८.६९ को औसत र १३७.०४ को स्ट्राइक रेटमा ४ हजार १८८ रन बनाए ।