यस वर्षको पेरिस ओलम्पिकमा अत्यधिक तापक्रमको खतरा रहने चेतावनी।

एजेन्सी := जलवायु वैज्ञानिक र खेलाडीहरूद्वारा समर्थित एउटा नयाँ प्रतिवेदनले मंगलबार यस वर्षको पेरिस ओलम्पिकमा अत्यधिक तापक्रमको खतरा रहने चेतावनी दिएको छ ।

गैरनाफामूलक क्लाइमेट सेन्ट्रल, बेलायतको युनिभर्सिटी अफ पोर्ट्समाउथका शिक्षाविद् र ११ जना ओलम्पियन्सबीचको सहकार्यमा तयार भएको ‘रिङ्स अफ फायर’ प्रतिवेदनले बढ्दो तापक्रमका कारण पेरिसको अवस्था सन् २०२१ मा टोकियोमा भएको भन्दा खराब हुन सक्ने बताएको छ ।

प्रतिवेदनमा सन् २०२४ को जुलाई-अगस्टमा हुने पेरिस ओलम्पिकमा तीव्र गर्मीका कारण खेलका क्रममा प्रतिस्पर्धीहरू बेहोस हुने र ज्यानसमेत गुमाउन सक्ने जस्तो जटिल अवस्था हुनसक्ने चेतावनी दिइएको छ ।

‘रिङ्स अफ फायर’ प्रतिवेदनले सामान्यतया उत्तरी गोलाद्र्धको उचाइमा गर्मीको समयमा आयोजना हुने प्रतियोगिताहरू-जस्तै ओलम्पिक वा विश्वकप फुटबलका आयोजकहरूलाई आफ्नो तालिकामा पुनर्विचार गर्न आग्रह गर्दछ ।

अध्ययनले गर्मीको जोखिमबाट बच्न पुनर्जलीकरण र शीतलका योजनाहरू पनि प्रदान गर्नुपर्ने तर्क गरेको छ । जुलाई २६ देखि अगस्ट ११ सम्म चल्ने पेरिस ओलम्पिक फ्रान्सको राजधानीमा सामान्यतया सबैभन्दा गर्मी समयमा हुने तयारीमा रहेको छ । रासस/एएफपी