राष्ट्रपति रामचन्द्र पौडेलले गरे जर्मनीको पूर्वी वर्लिन क्षेत्रको अवलोकन भ्रमण।

राष्ट्रपति पौडेल-अवलोकन वर्लिन(जर्मनी), ४ असार : जर्मनीको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार पूर्वी बर्लिन क्षेत्रको अवलोकन गर्नुहुँदै । तस्बिर सौजन्य : राष्ट्रपति कार्यालय/रासस

वर्लिन:= राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनी भ्रमणका क्रममा मंगलबार पूर्वी वर्लिन क्षेत्रको अवलोकन भ्रमण गरेका छन्। आजै उनले वर्लिनस्थित नेपाली राजदूतावासको निरीक्षण पनि गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

त्यसक्रममा राजदूतलगायतका दूतावासका कर्मचारीले नेपालमा जर्मनी लगानी भित्र्याउनका लागि पहल गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ।

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी आएका थिए। सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयांक वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो।

सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ। राष्ट्रपति पौडेल आजै स्वदेश फर्कने क्रममा वर्लिनबाट कतारको दोहा प्रस्थान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।