भेट्रान फुटबलर मेस्सीले इन्टर मियामीमै रहँदा आफ्नो करियरको अन्त्य गर्ने।

एजेन्सी (लण्डन):= भेट्रान फुटबलर लियोनल मेस्सीले इन्टर मियामीमै रहँदा आफ्नो करियरको अन्त्य गर्ने बताउनुभएको छ । मेस्सीको इन्टर मियामीसँग २०२५ सम्मको सम्झौता छ । इन्टर मियामी मेजर लिग सकरको हिस्सा हो । यसपछि उहाँले आफ्नो सम्झौता लम्ब्याउने वा नदिने भन्नेबारे कुनै जानकारी दिनुभएको छैन ।

सन् २०२५ उहाँको करियरको अन्तिम वर्ष हुन सक्ने अनुमान गरिएको छ । मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले सन् २०२२ मा फिफा विश्वकपको उपाधि जितेको थियो ।पूर्व बार्सिलोना र पेरिस सेन्ट-जर्मेन फुटबल क्लब स्टार मेस्सी यस महिनाको अन्त्यमा ३७ वर्षको हुनुहुनेछ ।

मेस्सीले एएसपिएन अर्जेन्टिनासँगको अन्तर्वार्तामा भन्नुभयो, ‘म फुटबल छोड्न तयार छैन । मैले जीवनभर त्यही गरेको छु । म प्रशिक्षण सत्रहरू र खेलहरूको आनन्द लिन्छु । त्यहाँ सधैं यो डर छ कि सबै कुरा समाप्त हुनेछ । मलाई लाग्छ इन्टर मियामी मेरो अन्तिम क्लब हुनेछ ।’

मेस्सीको करियर भने असाधारण रहेको छ । अर्जेन्टिनाका लिजेन्डले धेरैपटक च्याम्पियन्स लिग जित्नुभएको थियो । साथै स्पेन र फ्रान्समा लिगको उपाधि जित्नुभएको छ । उहाँले अर्जेन्टिनालाई कोपा अमेरिका र विश्वकपको उपाधिसमेत दिलाउनुभएको छ । मेस्सी धेरै बालोन डी’ओर अवार्डहरू जित्ने खेलाडी पनि हो । एजेन्सी