फिफा विश्वकप फुटबल २०२६ छनोट अन्तर्गत यमन र नेपालबीचको खेल बराबरी।

साउदी अरेबिया := फिफा विश्वकप फुटबल २०२६ छनोट अन्तर्गत यमन र नेपालबीचको खेल बराबरीमा सकिएको छ । मंगलबार राति भएको खेलमा इन्जुरी समयमा गोल खाएपछि नेपालले जितको अवसर गुमाएको हो ।

खेल २–२ को बराबरीमा टुंगियो । साउदी अरबमा खेलिएको खेलमा नेपाल सुरुवातमा नै पछि परेको थियो । नवौँ मिनेटमा पेनाल्टीमार्फत नासेर अल–घवासीले यमनलाई अग्रता दिलाएका थिए । तर, २२ औँ मिनेटमा सञ्जिव विष्टले नेपालका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफको ६६ औँ मिनेटमा गिलेस्पी जंग कार्कीले नेपालाई अग्रता दिलाए । तर, ९१ औँ मिनेटमा मोहम्मद अल दाहीले गोल फर्काएपछि नेपाल अंक बाड्न बाध्य भएको हो ।

यता नेपाली टोलीका कप्तान किरन चेम्जोङले नेपाली राष्ट्रिय टोलीका लागि १ सयौँ खेल पूरा गरेका छन् । उनलाई खेलअघि १ सय नम्बर लेखिएको जर्सी प्रदान गरिएको थियो ।

नेपालले यसअघिका पाँचवटै खेलमा हार भोगेको छ । आजको खेल अघिसम्म पाँचै खेलमा नेपाली टोलीले एक गोल पनि गर्न सकेको थिएन भने १८ गोल खाएको थियो ।