श्रीलंकाविरुद्धको खेल नेपालको लागि टेस्ट राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसर हो: कप्तान पौडेल।

काठमाडौं := नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले श्रीलंकाविरुद्धको खेल नेपालको लागि टेस्ट राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसरको रुपमा रहेको बताएका छन् । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा पौडेलले भोलिको खेल उच्च मनोबलका साथ खेल्न बताएका हुन् ।

उनले भने, ‘हामी जित निकाल्न सकिन्छ भन्ने विश्वासका साथ नै अघि बढेका छौं । हामीले यसका लागि २ महिनादेखि विश्वकप लक्षित तयारी गरेका छौं र डेढवर्षदेखि नियमित क्रिकेट खेलेका छौं । हामीमा सधैं विश्वास छ ।’

नेपाली राष्ट्रिय क्रिकेट टोलीले २०२४ आइसीसी टि२० विश्वकप अन्तर्गत मंगलबार श्रीलंकाको सामना गर्दैछ । नेपाली समयअनुसार बुधबार बिहान ५ः१५ बजे फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा खेल हुँदैछ ।

त्यस्तै कप्तान पौडेलले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताउनुभएको छ ।उहाँले भन्नुभयो, ‘वेस्टइण्डिजको पिच एकदमै स्पिनरका लागि राम्रो छ । विकेटटेकर बलर एड भएको छ, अनुभव पनि छ, दाईको टि २० मा । अब राम्रो हुनेछ । श्रीलंका टिम राम्रो छ । हामीलाई भन्दा बढी प्रेसर श्रीलंकालाई छ जस्तो लाग्छ मलाई । धेरैजसो डट बल भइरहेको छ । १४० बनाउनसक्यो भने जित्ने सम्भावना हुन्छ ।

शुरुवाती ब्याट्सम्यानले राम्रो गर्नसके सबैमा आत्मविश्वास आउँछ । हामी बलियो टिम र भोलिको गेमलाई लिएर उत्साहित छौँ । यो टुर्नामेण्ट अप डाउन भइरहेको छ । प्रेसरलाई सहेर खेल्ने टिमले नै जित्छ ।’ कप्तान पौडेलले श्रीलंकासँगको खेललाई लिएर टिम उत्साहित रहेको बताउनु भयो ।