आईसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित।

अमेरिका:= आईसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले पराजित गरेको छ। अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी मैदानमा सोमबार राति भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई हराउँदै  लगातार तेस्रो जित निकाल्यो।

दक्षिण अफ्रिकाले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९ मात्र बनाउन सक्यो। बंगलादेशका लागि तोहीद हृदोयले ३७, मोहम्मदुल्लाहले २० र कप्तान नजमुल होसेन सान्तोले १४ रन बनाए।  बंगलादेशलाई सस्तैमा समेट्न केशव महाराजले ३ तथा एनरिच नोत्जे र काशिगो रवाडाले समान २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा विकेट ६ गुमाएर १ सय १३ रन बनाएको थियो। उसका लागि हेनरिक क्लासेनले सर्वाधिक ४६, डेभिड मिलरले २९ र क्विन्टन डी ककले १८ रन बनाए।

बलिङतर्फ बंगलादेशका लागि तन्जिम हसन सकिबले ३‚ तास्किन अहमदले २ र रिशद होसेनले १ विकेट लिए । ३ खेलमा ६ अङ्क बटुल्दै दक्षिण अफ्रिका समूहको शीर्ष स्थानमा रहेको छ । बंगलादेशले भने दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ । टोली २ अङ्कसहित दोस्रो स्थानमा छ ।