काठमाडौं := चलचित्र ‘पूर्ण बहादुरको सारंगी’मा कलाकार विजय बराल र बुद्धि तामाङ अनुबन्धित हुनुभएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो चलचित्रमा यसअघि मुख्य भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल अनुबन्धित भइसक्नुभएको छ ।
यस्तै, कलाकार विनोद न्यौपाने, भोलाराज सापकोटा र देशभक्त खनाललाई पनि निर्माण टिमले यसअघि अनुबन्धित गरेको थियो । चलचित्रको मुख्य नायिकामा अञ्जना बराइली अनुबन्ध हुनुभएको छ ।
निर्माता विनोद पौडेलका अनुसार बालकलाकारमा जान्भी पौडेल र स्वायम केसीको अभिनय रहनेछ । सरोज पौडेलको निर्देशन र लेखन रहेको यो चलचित्र गन्धर्व परिवारको कथामा आधारित रहनेछ । यही साताभित्र छायांकनमा जाने तयारी रहेको यस चलचित्रलाई अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो ।
चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ चलचित्रका कार्यकारी निर्माता हुनुहुन्छ । महेश दवाडीको पटकथा तथा संवाद रहन चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहनेछ ।




















