एजेन्सी := अमेरिकाको राष्ट्रपतिमा उम्मेदवार बन्ने तरखरमा लागेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई आपराधिक मुद्दामा झूटो व्यापारिक अभिलेख राख्ने सबै ३४ वटै मुद्दामा दोषी ठहर गरिएको छ।
न्युयोर्कमा भएको सुनुवाइका क्रममा उनलाई दोषी ठहर गरिएको हो। अमेरिकाको इतिहासमै बहालवाला वा पूर्व राष्ट्रपतिलाई अपराधको सजाय सुनाइएको पहिलोपटक हो। आगामी जुलाई ११ मा पूर्वराष्ट्रपति ट्रम्पलाई सजाय निर्धारण गरिनेछ। ट्रम्प जेल जान सक्ने सम्भावना रहेको बताइएको छ।
कानुनी विज्ञहरुले ट्रम्पलाई जरिवाना मात्रै गर्ने सम्भावना पनि रहेको बताएका छन्। ट्रम्पले फैसलालाई अपमानजनक भन्दै मुद्दाको अध्यक्षता गर्ने न्यायाधिश माथि नै आक्रमण गरेका थिए। आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा बाइडेनलाई हराएर ह्वाइट हाउसमा फर्कने ट्रम्पको अभियानलाई प्रभावित पार्ने गरी अदालतले फैसला गरेको उनका समर्थकको आरोप छ।
ट्रम्पले अदालतको यस निर्णयलाई लाजमर्दो र धाँधलीपूर्ण बताएका छन् । वर्तमान वा पूर्व राष्ट्रपतिलाई आपराधिक मुद्दामा मुद्दा चलाइएको अनि दोषी ठहराइएको अमेरिकी इतिहासमा यो पहिलो पटक हो । अमेरिकी राष्ट्रपति जो बाइडेनको चुनावी प्रचार प्रसारमा खटिएको टोलीले ‘कानुनभन्दा माथि कोही नभएको’ भन्दै अदालतको निर्णयलाई उचित ठहर गरेको छ।
डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार हुन् । यो निर्णयपछि ट्रम्पको चुनाव प्रचार प्रसार टोलीले उनलाई ‘राजनीतिक बन्दी’को रूपमा देखाइरहेका छन् । बाइडेन सत्तारुढ डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार हुन्।
उनको टोलीले ट्रम्पलाई अझै पनि मतपेटिकामा हराउन बाँकी भनेका छन् । सन् २०१६ मा राष्ट्रपति चुनाव अघि आफूहरूबिचको यौन सम्बन्ध गुपचुप राख्न ट्रम्पले पोर्न स्टार स्टर्मी डेनियललाई १ लाख ३० हजार डलर हश मनी दिएका थिए।
यसै मामिलामा ट्रम्पमाथि हश मनी लुकाएको र व्यापार रेकर्डमा हेरेफेर गरेको भन्दै ३४ ओटा मुद्दा चलिरहेको छ । ट्रम्पले भने व्यापारमा हेरफेर गरेको आरोप अस्वीकार गर्दै आएका छन् । स्टर्मी डेनियलसँगको यौन सम्बन्ध पनि उनले अस्वीकार गरेका छन्।




















