फ्रेन्च कपको उपाधी(पिएसजी) ले जित्यो, पिएसजीबाट केलियन एमबाप्पेको सुखद बिदाइ।

लण्डन:= फ्रेन्च कपको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जितेको छ । शनिबार राती लियोनमाथि दुई-एकको जित निकाल्दै पिएसजी उपाधि जित्न सफल भएको हो । पिएसजीका लागि आफ्नो अन्तिम खेलमा भने फरवार्ड केलियन एमबाप्पेले गोल गर्न सक्नुभएन ।

गोल गर्न नसके पनि उपाधिसँगै पिएसजीबाट उहाँको सुखद बिदाइ भएको छ । पिएसजीका लागि अन्तिम खेल खेल्नुभएका एमबाप्पेले उपाधिसहित क्लबबाट सुखद बिदाइ लिनुभएको हो । पिएसजीको यो दोस्रो उपाधि हो । यसअघि पिएसजीले फ्रेन्च लिग वान जितिसकेको छ ।

लिलेको स्टेड पियरे माउरोयमा नुनो मेन्डेसको क्रसबाट पिएसजीले ओस्मान डेम्बेलेको हेडर गोलबाट अग्रता लिएको थियो । ३४औँ मिनेटम फावियन रुइजले गोल गर्दै अग्रता दोब्बर पार्नुभयो ।

५५औँ मिनेटमा जेक ओ’ब्रायनले गोल गर्दै खेललाई दुई-एकको स्थितिमा ल्याए पनि त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी उपाधि जित्न सफल भयो । सन् २०१७ मा मोनाकोबाट पिएसजी पुग्नुभएका २५ वर्षीय एमबाप्पेले सात सिजनमा ३०८ खेलमा २५६ गोल गर्दै क्लबको सर्वाधिक गोलकर्ता बन्नुभएको छ ।

एमबाप्पेले पिएसजीमा सात वर्ष बिताउँदा छवटा लिग वान उपाधिसँगै चार फ्रेन्च कप र दुई लिग कप जित्नुभएको छ । एमबाप्पे स्पेनिस क्लब रियल म्याड्रिडमा सामेल हुने अपेक्षा गरिएको छ । पछिल्लो १२ वर्षमा ११ लिग उपाधि जिते पनि च्याम्पियन्स लिग उपाधिविहीन भएपछि एमबाप्पेले सिजनसँगै क्लब छाड्ने निर्णय लिनुभएको हो । एजेन्सी