बार्सिलोनाले युइएफए महिला च्याम्पियन्स लिग फुटबलको उपाधि जित्यो।

एजेन्सी := बार्सिलोनाले युइएफए महिला च्याम्पियन्स लिग फुटबलको उपाधि उचालेको छ । शनिबार राती सर्वाधिक विजेता लियोनलाई २-० ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । क्लब इतिहासमा क्याटलान टोलीले तेस्रोपटक च्याम्पियन्स लिग हात पारेको हो ।

बार्सिलोनालाई जित दिलाउन ऐटाना बोनमती र एलेक्सिया पुटेलासले गोल गर्नुभयो । पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न हुँदा ६३औँ मिनेटमा मारिओना कल्डेन्टीको पासमा बालोन डि ओर विजेता बोनमतीले गोल गर्नुभयो ।

बार्सिलोनाले तेस्रोपटक उपाधि जित्दा सर्वाधिक आठपटकको च्याम्पियन लियोन भने उपविजेता बन्यो । लियोनले सन् २०११ यता आठपटक उपाधि उचालेको हो । बार्सिलोना भने लगातार उपाधि जित्न सफल भयो । क्लबले २०२१, २०२३ र २०२४ मा उपाधि जित्दै हृयाट्रिक गरेको हो ।