आईपिएलअन्तर्गत पहिलो क्वालिफायरमा आज कोलकाता र हैदरावाद भिड्दै।

एजेन्सी := इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत पहिलो क्वालिफायरमा आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्दैछन्।

श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकाता र प्याट कमिन्सको नेतृत्वमा रहेको हैदरावादको पहिलो क्वालिफायर अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ।

कोलकाताका सुनिल नारायन, आन्द्रे रसेल, फिल साल्ट र श्रीयस अय्यर र रिंकु सिंहलाई प्रभाव पर्ने ब्याट्सम्यानको रुपमा हेरिएको छ। त्यहाँ जुनसुकै बेला प्लेइङ–११ ले प्रभाव जमाउने छन्। बलिङतर्फसमेत सुनिल नारायन अगाडि छन्। वरुण चक्रवर्ती, हर्षित राना, आन्द्रे रसेल र मिचेल स्टार्कले बलिङमा उत्तिकै प्रभाव पार्नेछन्।

आईपिएल इतिहासमा कोलकाताले पहिलो क्वालिफायरमा पराजय भोगेको छैन। अहिलेसम्म दुई पटक पहिलो क्वालिफायर खेलेको कोलकाताले दुवै पटक फाइनल पुगेर उपाधि उचालेको छ।

यो सिजनमा हैदरावादको खेललाई हेर्दा पहिलो क्वालिफायरबाट फाइनल पुग्ने सम्भावना उत्तिकै छ। हैदरावादका ट्रेभिस हेड र अभिषेक शर्माको आक्रामक ओपनिङमा थुप्रै रेकर्ड बनेका छन्। यो सुरुवाती ब्याटिङ कोलकाताका लागि चुनौती बन्नसक्छ। उसका लागि हेनरिक क्लसेन र नितिश कुमार रेड्डीसमेत फममा छन्।

बलिङतर्फ हैदरावादका भुवनेश्वर कुमार, कप्तान प्याट कमिन्स, टि नटराजन, आकाश सिंह कोलकाताका लागि भारी बन्नसक्ने देखिन्छ। पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्ने दुवै टिमले फाइनलका लागि अवसर पाउने छन्।

क्वालिफायर १ को विजेता सिधै फाइनल प्रवेश गर्नेछ भने पराजित टिमले एलिमिनेटरको विजेतासँग फाइनलका लागि पुनः प्रतिस्पर्धा गर्न पाउने छन्। बुधबार एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी) र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। एलिमिनेटरमा पराजित टिमको भने आईपिएल यात्रा समाप्त हुनेछ।