काठमाडौं:= नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको बारेमा बोल्दा विचार पुर्याएर बोल्न नेपाली कांग्रेसका नेताहरुलाई चेतावनी दिनुभएको छ ।आज पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्ने क्रममा अध्यष ओलीले नेपालमा आफूहरुले लडेर लोकतन्त्र ल्याएको भन्दै एमालेको बारेमा बोल्दा विचार पुर्याउनको लागि कांग्रेसका नेताहरुलाई चेतावनी दिनुभएको हो ।
गिरिबन्धु टि स्टेटका विषयमा कांग्रेसले आफ्नो नाम जोडेकोप्रति उहाँले आक्रोश पोख्नुभयो । उहाँले भन्नुभयो,‘जहाँसम्म गिरिबन्धु टि स्टेटको कुरा छ, नेपाली कांग्रेसले एकपल्ट ५१ विगाह, एक पटक १९ विगाह कमिशन खाएर सट्टापट्टा गर्ने नाउँमा जमिन विक्री गर्न दिएको छ । त्यही टि स्टेटको, पछि अदालतले ऐन र नियम बनाउनु भनेर आदेश दिएपछि हामीले अदालतको आदेशबमोजिम ऐन बनाएका हौं । कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ ।’
उहाँले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न नभएको दाबी गर्नुभयो । उहाँले कांग्रेसले पाखुरा देखाएको र मसलको राजनीति गरेको भरमा आफूहरु नलतिर्ने चेतावनी समेत दिनुभयो । ओलीले सत्ता स्वार्थ पूरा नहुँदा कांग्रेसले संसद्लाई बन्दक बनाएको आरोप लगाउनु भयो ।
उहाँले संसद् कांग्रेसको दादागिरी चल्ने ठाउँ नभएको समेत टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने पहिलो शर्त रहेको बताउनु भयो । कांग्रेसले आरोप लगाईरहने र बकवास गरिरहने अनि आरोपितले बोल्न नपाउने भन्ने हुन्छ ? भन्दै प्रश्न गर्नुभयो ।
कोही व्यक्तिलाई आरोप लगाउने तर उसलाई बोल्न नदिने कांग्रेसको अड्डी लोकतान्त्रिक नभएको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘कुनै माननीयमाथि व्यक्ति तोकेर छानबिन गर्न, को न्यायाधीश हुन्छ ? कांग्रेसको सांसद न्यायाधीश हुन्छ ?’ अध्यक्ष ओलीले कांग्रेसका मान्छेहरू एमालेका विभिन्न नेताहरूमाथि मर्यादाहीन ढंगले आरोप लगाउँदै हिँडेको बताउनु भयो ।