काठमाडौं := क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दा मंगलबार हेर्दाहेर्दैमा राखिएको छ । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस नसकिएपछि उक्त मुद्दा ‘हेर्दाहेर्दै’मा गएको हो ।
उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले बलात्कारसम्बन्धी मुद्दा आज (बुधबार)का लागि हेर्दाहेर्दैमा राखेको हो ।न्यायाधीशद्वयले यो मुद्दामा आजै बहस सक्नुपर्ने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई समेत बहसमा समय निर्धारण गर्दै कडाइ गरे पनि बहस पूरा हुन सकेन । सरकारका तर्फबाट रत्नकेशरी महर्जन र उप-न्यायाधिवक्ता प्रकाश घिमिरेले बहस गर्नुभएको थियो ।
उहाँहरूपछि लामिछानेका कानुन व्यवसायीहरूले बहस थालेका थिए । मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सन्दीपले दायर गरेको पुनरावेदनमा जवाफी बहस मात्रै बाँकी भएको उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीले बताउनुभयो । उहाँले जवाफी बहस बुधबार हुने बताउनुभएको हो ।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, कृष्ण सापकोटा, मुरारी सापकोटा, सरोजकृष्ण घिमिरे, रामनारायण विडारी र रोशनी पौडेल लगायतले बहस गरेका थिए । लामिछाने निर्दोष भएको र उनले जबरजस्ती नभई सहमतिमै शारीरिक सम्बन्ध राखेको दाबी उनीहरूको थियो ।
यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेले गौशाला २६ लाई बलात्कार गरेको मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । उक्त फैसलामा चित्त नबुझाउँदै सरकार र लामिछाने दुवै उच्च अदालत पाटन आएका थिए । उता, पीडित पक्षका तर्फबाट पनि किशोरी नाबालिग नै रहेको जिकिर गर्दै सन्दीपलाई अझ बढी सजाय हुनुपर्ने माग गरी पुनरावेदन परेको छ ।