विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकप आयोजनाका निम्ति मतदान गर्ने।

SYDNEY, AUSTRALIA - AUGUST 20: Ivana Andres of Spain and teammates celebrate with the FIFA Women's World Cup Trophy following victory in the FIFA Women's World Cup Australia & New Zealand 2023 Final match between Spain and England at Stadium Australia on August 20, 2023 in Sydney / Gadigal, Australia. (Photo by Elsa - FIFA/FIFA via Getty Images)

एजेन्सी := विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकप आयोजनाका निम्ति मतदान गर्ने भएको छ । फिफा महिला विश्वकपका निम्ति दक्षिण अमेरिकी राष्ट्र ब्राजिलसँगै युरोपका बेल्जियम, जर्मनी र नेदरल्याण्ड्सले संयुक्त आयोजनाका लागि प्रस्ताव राखेका छन् ।

दुवै प्रस्तावले आयोजनाका निम्ति आवश्यक सबै मापदण्ड पूरा भए पनि प्राविधिक क्षेत्र, रंगशाला, आवास र समर्थक क्षेत्रमा भने ब्राजिलले उच्च अंक पाएको छ । यदि प्रतियोगिता ब्राजिलमा आयोजना भए यो दक्षिण अमेरिकामा आयोजना हुने पहिलो महिला विश्वकपसमेत बन्नेछ ।

विश्वकपका निम्ति दुई प्रस्ताव आएपछि फिफाले आफूसम्बद्ध २११ देशका फुटबल एसोसिएसनलाई बैंककमा मे १७ मा हुने ७४औँ फिफा कंग्रेसमा मतदान गर्ने भएको हो ।

यसअघि महिला विश्वकपका लागि अमेरिका, मेक्सिको र दक्षिण अफ्रिकाले समेत प्रस्ताव राखेका थिए । तर, गत हप्ता अमेरिका र मेक्सिकोले प्रस्ताव फिर्ता लिँदै सन् २०३१ को महिला विश्वकपमा आयोजनाको प्रस्ताव गर्ने जनाएका थिए । यस्तै, गत नोभेम्बरमै प्रस्ताव फिर्ता लिएको दक्षिण अफ्रिकाले पनि सन् २०३१ को विश्वकप आयोजनामा प्रस्ताव राख्ने बताएको थियो ।