एजेन्सी := काडिजलाई पराजित गर्दै रियल म्याड्रिडले स्पेनिस ला-लिगा फुटबलको उपाधि जितेको छ । सान्टियागो बर्नाबेउ स्टेडियममा शनिबार राती सम्पन्न खेलमा घरेलु टोली रियलले काडिजलाई ३-० गोल अन्तरले पराजित गर्दै चार खेलअगावै उपाधि पक्का गरेको हो । रियलको यो ३६औँ ला-लिगा उपाधि हो ।
चार खेल खेल्न बाँकी रहँदा रियलको ८७औँ अंक रहेको छ । दोस्रो स्थानमा रहेको जिरोना ३४ खेलबाट ७४ अंक जोड्दै शीर्ष दुईमा रहेको छ । जिरोना र रियलबीच १३ अंकको दूरी रहेको छ ।
समान खेलबाट ७३ अंक रहेको बार्सिलोना तेस्रो स्थानमा छ । खेलको ५१औँ मिनेटमा लुका मोड्रिचले मिलाइदिएको पासमा गोल गर्दै ब्राहिम डियाजले रियललाई सुरुवाती अग्रता दिलाउनुभयो ।
६८औँ मिनेटमा जुड बेलिंगमले अग्रता दोब्बर बनाउनुभयो । उहाँले डियाजको पासमा गोल गर्नुभयो । दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा नाचो फर्नान्डेजले दिएको पासमा जोसेलुले गोल गर्दै रियलको उपाधि पक्का गर्नुभयो ।




















