चलचित्र ‘वसन्त’ निर्माण गर्ने घोषणा, प्रकाश सपूत र स्वस्तिमा खड्काले अभिनय गर्ने।

काठमाडौं := चलचित्र ‘वसन्त’ को निर्माणको घोषणा गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच उक्त चलचित्रको घोषणा गरिएको हो । गायनमार्फत लोकप्रिय बन्नुभएका प्रकाश सपुतले यो चलचित्र निर्माण गर्न लाग्नुभएको छ । कार्यक्रममा प्रकाशले चलचित्रको नाम र कलाकारबारे जानकारी गराउनुभएको थियो ।

‘वसन्त’ नामक चलचित्रको मुख्य भूमिकामा प्रकाश स्वयंले गर्नुहुने भएको छ भने उहाँको अपोजिटमा स्वस्तिमा खड्का रहनुहुने छ । चलचित्रमा अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहने जनाइएको छ ।

चलचित्रमा प्रकाशकै निर्देशन, लेखन र संगीत रहनेछ । चलचित्र आउँदो चैते दशैँमा सिनेमाघरमा ल्याउने प्रकाशले बताउनुभयो । गलबन्दी प्रमेडक्सनको प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रको कार्यकारी निर्माता मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहनुभएको छ ।

प्रकाशले चलचित्र ‘परदेशी-२’ मा अभिनय गर्नुभएको थियो । सोही चलचित्रबाट अनुभव हासिल गरेर आफैँ निर्माणमा आएको प्रकाशको भनाइ थियो । गीतमा जस्तै चलचित्रमा पनि दर्शकको माया पाउने उहाँको विश्वास छ । प्रकाशले यो चलचित्रको छायांकनअगाडि ‘पूर्णबहादुरको सारंगी’मा अभिनय गर्नुहुनेछ ।