एजेन्सी := अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि सुरु हुने आइसिसी टी-२० विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीलाई बिदाइ गरेको हो । नेपाली टोलीलाई बिदाइ गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशलाई एकताको सूत्रमा बाँध्ने काम क्रिकेटले गरेको बताउनुभयो ।
उहाँले पछिल्लो समय नेपाली क्रिकेटले उल्लेख्य सफलता हात पारेको बताउँदै खेलाडीलाई उच्च मनोबलका साथ खेल्न शुभकामना दिनुभयो । सरकारले क्रिकेटलाई उच्च प्राथमिकता दिएको पनि उहाँले बताउनुभयो ।

यस्तै युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली क्रिकेटबाट देशले ठूलो अपेक्षा गरेकोले हार जित भन्दा पनि विश्वकपमा उत्कृष्ट खेल्न आग्रह गर्नुभयो । उहाँले क्रिकेट टोलीले विश्वकप छनोट भएबापत घोषणा गरिएको खेलाडीले प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न अर्थ मन्त्रालयसँग पहल गरिरहेको जानकारी पनि दिनुभयो ।
राखेप सदस्य सचिव टंकलाल घिसिङले सीमित साधन र श्रोतबीच नेपाली क्रिकेटले हात पारेको सफलताले विश्वलाई अचम्म पारेको बताउनुभयो । उहाँले राखेपले क्रिकेटको विकासका लागि छुट्टै योजना बनाएर अगाडि बढ्न लागेको र विश्वकपमा खेलाडीबाट उत्कृष्ट नतिजाको आशा गरेको पनि बताउनुभयो ।

खेलाडीलाई उपप्रधान तथा गृहमन्त्री लामिछाने, खेलकुद मन्त्री श्रेष्ठ, राखेप सदस्य सचिव घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतले बिदाइ गर्नुभएको थियो । विश्वकप अघि नेपालले अमेरिकामा केही अभ्यास खेल खेलेर वेस्ट इन्डिजमा दुई अभ्यास खेल खेल्ने र विश्वकप खेल्न पुनः अमेरिका जाने क्यानले जनाएको छ ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी टी-२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने खेलाडीलाई सफलताका लागि शुभकामना दिनुभएको छ । वेस्टइन्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसिसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने टोलीका सदस्यलाई सफलताको शुभकामना व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
टी-२० विश्वकप जुन १ तारिखदेखि सुरु हुनेछ । विश्वकपमा नेपाल समूह ‘डि’ मा परेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले जुन ४ तारिख नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।
यस्तै, नेपालले समूहको दोस्रो खेल जुन ११ मा श्रीलंका, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ तारिख बंगलादेशसँग खेल्नेछ । नेपालले १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले बंगलादेशमा सन् २०१४ मा आयोजना भएको टी-२० विश्वकप खेलेको थियो ।
नेपालको टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी हुनुहुन्छ ।




















