क्यानद्वारा टी-२० विश्वकपमा खेल्ने १५ सदस्यीय स्क्वाड घोषणा।

Nepal players celebrate the run out of Mohammad Nizakat Khan of Hong Kong, China during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौं := नेपाल क्रिकेट संघ (क्यान)ले टी-२० विश्वकपमा खेल्ने १५ सदस्यीय स्क्वाड घोषणा गरेको छ । क्यानले बुधबार रोहित पौडेलको कप्तानीमा टी-२० विश्वकप खेल्ने १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । घोषित टिममा अनुभवी खेलाडीहरूले नै आफ्नो स्थान बनाएका छन् । नेपालको ओपनिङ जोडीमा नियमित ओपनरहरू कुशल भुर्तेल र आसिफ शेख हुनुहुन्छ ।

वैकल्पिक ओपनिङ ब्याट्सम्यानका रूपमा अनिल साह रहनुभएको छ । उहाँ विकेटकिपर पनि हुनुहुन्छ । नेपालको स्क्वाडमा मध्यक्रम निकै बलियो छ । कप्तान रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी र गुलसन झा मध्यक्रममा रहनुभएको छ । उहाँहरूमध्ये रोहित, कुशल, दीपेन्द्र र गुलसनले बलिङसमेत गर्न सक्नुहुन्छ ।

यसैगरी अनुभवी सोमपाल कामी र करण केसीका साथमा अविनाश बोहोरा प्रमुख फास्ट बलरका रूपमा रहनुभएको छ । युवा खेलाडी प्रतिस जिसी र कमलसिंह ऐरीले पनि १५ सदस्यीय स्क्वाडमा स्थान सुरक्षित गर्नुभएको छ ।

सन्दीप लामिछानेको अनुपस्थितिमा युवा स्पिनर सागर ढकाललाई मौका मिलेको छ भने मुख्य स्पिनरका रूपमा ललित राजवंशी हुनुहुन्छ । अलराउण्डर विवेक यादव र फास्ट बलर आकाश चन्द भने स्क्वाडमा समेटिन सक्नुभएन । घरेलु मैदानमा जारी वेष्ट इण्डिज ‘ए’विरुद्धको खेलमा गरेको प्रदर्शनका आधारमा क्यानले एक खेलाडी थप गरेको हो ।

विश्वकपमा नेपाल नेदरल्याण्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेको समूह ‘डी’ मा छ । विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान पक्का गर्नेछन् । सुपर आठबाट चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल खेल जुन २९ मा हुनेछ ।

आफ्नो पहिलो खेलमा नेपालले जुन ४ मा नेदरल्याण्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । दोस्रो खेलमा जुन १२ मा श्रीलंकासँग खेल्नेछ । जुन १५ मा दक्षिण अफ्रिका र समूह चरणको अन्तिम खेलमा जुन १७ मा बंगलादेशसँग खेल्नेछ ।

ट्वान्टी-२० विश्वकप आगामी जुन १ देखि अमेरिका र वेष्ट इण्डिजका विभिन्न शहरहरूमा आयोजना हुँदैछ । जुन २९ सम्म सञ्चानल हुने प्रतियोगिताको यस संस्करणमा नेपालसँगै कुल २० टिमको सहभागिता छ ।

नेपाली टिम : रोहितकुमार पौडेल, कुशल भुर्तेल, अनिल शाह, आसिफ सेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी, ललितनारायण राजवंशी, प्रतिस जिसी, अविनाश बोहरा, सन्दीप जोरा, सागर ढकाल र कमलसिंह ऐरी ।

विश्वकपका लागि खेलाडी तयारी अवस्थामा छन् : कप्तान पौडेल

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले आइसिसी टी-२० विश्वकपका लागि नेपाली खेलाडी तयारी अवस्थामा रहेको बताउनुभएको छ । बुधबार वेष्ट इण्डिज ‘ए’ सँगको तेस्रो खेलपछि पोष्ट म्याच कन्फ्ररेन्समा पौडेलले सबै खेलाडीहरूको खेल हेरिसकेको भन्दै विश्वकपका लागि नेपाली खेलाडी तयारी अवस्थामा रहेको बताउनुभएको हो ।

अहिले खेलिरहेका सबै खेलाडीहरू फिट रहेपछि विश्वकप खेल्ने १५ खेलाडीबारे स्पष्ट भइसकेको उहाँले बताउनुभयो । उहाँले विश्वकप खेल्ने नेपाली टिम बलियो रहेको जिकिर पनि गर्नुभयो । पौडेलले दुई खेलपछि आफू आरामका लागि तेस्रो खेल नखेलेको बताउनुभयो ।

त्यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले वेष्ट इण्डिज ‘ए’ सँगको जारी सिरिजमा नेपाली टिमलाई निकै अनुभव भएको बताउनुभयो । उहाँले नेपाली टिमको तयारीप्रति पूर्णरूपमा सन्तुष्ट रहेको भन्दै दबाबलाई सम्हाल्न सक्ने अवस्थामा टिम रहेको जिकिर गर्नुभयो ।